घण्टीघरमा रवि, स्वर्णिम र रमेशको पत्रकार सम्मेलन, कस्ले के भने ?

जनता संवाददाता
२०७९ चैत्र १८ गते, शनिबार

काठमाडौँ । आगामी वैशाख १० गते देशका तीनवटा क्षेत्रमा हुने उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले उठाउन लागेका तीनजना उम्मेदवारले शनिवार राजधानी काठमाडौँमा संयुक्त पत्रकार सम्मेलन गर्दै आफ्ना प्रतिबद्धताहरू सार्वजनिक गरेका छन्।

बारा क्षेत्र नम्बर-२, चितवन क्षेत्र नम्बर-२ र तनहुँ क्षेत्र नम्बर-१ मा प्रतिनिधिसभा सदस्यका लागि वैशाख १० गते उपनिर्वाचन हुँदैछ।

तनहुँ क्षेत्र नम्बर-१ बाट नेपाली कांग्रेबाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति तथा बारा क्षेत्र नम्बर-२ मा जनता समाजवादी पार्टी जसपाका तर्फबाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति बनेपछि ति क्षेत्रमा उपनिर्वाचन गर्न लागिएको हो।

त्यस्तै चितवन क्षेत्र नम्बर-२ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकतासम्बन्धी सर्वोच्च अदालतबाट भएको निर्णयसँगै उनको सांसद पद गएपछि त्यहाँ पुन: निर्वाचन हुन लागेको हो।

कसले के भने?
रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी स्वतन्त्र मञ्च भएको बताए। उनले स्वर्णिम वाग्ले र रमेश खरेलजस्ता धेरै मानिससँग संवादमा रहेको खुलासा गरे। उनले नेपालबाट धेरै नेपालीहरू विभिन्न कारणले देश छाडेर गएको प्रसङ्ग उप्काए। लामिछानेले भने, “नेपालमा कहीँ कतै सम्भावना नदेखेर उहाँहरू विदेश जानु भएको छ।” वाग्ले र खरेललाई आफ्नो पार्टीमा स्वागत गर्न पाउँदा आफूलाई गौरव अनुभूति भएको लामिछानेले बताए।

लामिछानेले “केही मानिसहरूले आफ्नो र आफ्ना वरिपरिकाहरूको प्रगतिका लागि मात्र काम गरेकाले” देशको अहिलेको अवस्था आएको दाबी गरे। उनले भने, “राजनीतिभित्रको अपराधीकरण हो कि अपराधीकरणको राजनीतिकरण भएको हो भन्ने थाहा नभएर धेरै राजनीतिमा नआएका हुन्।” लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी देशकै ठूलो र लोकतान्त्रिक पार्टी बन्ने दाबी पनि गरे। वाग्ले र खरेलको आगमन त्यसको सङ्केत मात्र भएको उनको भनाइ छ।

नेपाली कांग्रेस छाडेर राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बनेका वाग्लेले नेपाल बनाउन ढिलो भइसकेको बताए। उनले कतिपयले आफूलाई निगाह बस्नुपर्छ भन्ने गरेको तर अब ढिलो भइसकेको बताए। उनले नेपालमा अब पहिले जस्तो “जेलनेलको भत्ता खाने राजनीति” गर्ने बेला नभएको बताए।

उनले समय तोकेरै कति पटक र कति समय जनप्रतिनिधि हुने भनेर राजनीतिज्ञले तय गर्नुपर्नेमा जोड दिए। “नेपाललाई चाँडै बनाउनु पर्‍यो भन्ने हुटहुटी”ले आफूले पछिल्लो निर्णय लिएको वाग्लेको दाबी छ।

नेपालमा अब बिस्तारै बूढो पुस्ताको हुने बेला भइसकेकाले चाँडै नेपालले प्रगति गर्नुपर्ने अवस्था रहेको उनले बताए। “नेपाललाई छिटो बनाउनुपर्ने राजनीतिक प्रतिबद्धताको कमी देखिन्छ,” उनले भने। त्यसलाई पूर्ति गर्नका लागि आफूहरूले नयाँ खालको राजनीति सुरु गर्न लागेको वाग्लेले बताए।

उनले कुशासन र आर्थिक मन्दीलाई ठूलो धक्का दिनुपर्ने अवस्था आइसकेको दाबी गरे। टिकट पाउन र चुनाव लड्नका लागि पनि ठूलो रकम खर्चनुपर्ने अवस्था रहेको र त्यसले देशमा सुशासन नआउने बताए।

खरेलले कुशासनको अन्त्य र सामाजिक न्यायका लागि आफूहरू एक ठाउँमा आएको बताए। उनले भने, “सुशासन कायम गर्नका लागि नेपाल आमालाई माया गर्ने मान्छेहरू एक ठाउँमा उभिनुपर्ने अवस्था आएको छ।” उनले तीन जना उपनिर्वाचनका लागि मात्र होइन दीर्घकालीन रूपमा सङ्गै उभिनुपर्ने बताए। बिबिसी नेपाली

प्रकाशित मिति : २०७९ चैत्र १८ गते, शनिबार


Scroll to Top

Janata Media