अमेरिकी डलर साट्ने प्रलोभनमा लुटपाट : पाँच जना पक्राउ

जनता संवाददाता
२०७९ चैत्र २३ गते, बिहीबार

काठमाडौं । अमेरिकी डलर साटिदिने प्रलोभनमा लाखौं रुपियाँ लुटपाट गर्ने पाँचलाई प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधबार विज्ञप्ति सार्वजनिक गर्दै लुटपाटमा संलग्न पाँच जनलाई नियन्त्रणमा लिएको जानकारी गराएको हो। उपत्यकाका भिन्न–भिन्न छ स्थानबाट ती व्यक्तिलाई नियन्त्रणमा लिइएको हो।

उनीहरुले पीडितलाई पटक-पटक फोनमार्फत आफूसँग अमेरिकी डलर रहेको र सस्तो दररेटमा साटीदिने प्रलोभन देखाएर नेपाली नोट साइजको कागज काटेर रुमालमा पोको पारी दिने गरेको विज्ञप्तिमा उल्लेख छ।

कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक रविन्द्र रेग्मीका अनुसार उपत्यकाको साँघुरा गल्ली, पातलो मानवबस्ती र जङ्गलको आसपासमा बोलाएर यसखाले गतिविधि गर्ने गरेको अनुसन्धानको क्रममा खुलेको छ। उनीहरु यस पश्चात् प्रयोग गरिरहेको मोबाइल फोन पुनः प्रयोग नगरी फरार हुने गरेको जनाइएको छ।

पक्राउ पर्नेमा धादिङका ३२ वर्षीय सुरेश कोइराला, सिन्धुपाल्चोक जिल्लाका २४ वर्षीय विकास तामाङ, धनकुटाका ३२ वर्षीय दीपक दमाई, २८ वर्षीय साजन तामाङ र सिन्धुपाल्चोक जिल्लाकै ३५ वर्षीया प्रेमबहादुर तामाङ रहेका छन्।

प्रकाशित मिति : २०७९ चैत्र २३ गते, बिहीबार


Scroll to Top

Janata Media