हुम्ला । हुम्लाको चंखेली गाउँपालिकाका कर्मचारीले हाजिर अनुसार तलब पाउने भएका छन्।
गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाहीले पालिकाभित्र रहेका विद्यालय अनुगमनका क्रममा हाजिर हेर्दा अधिकांश शिक्षकहरू अनुपस्थित भएको पाइएपछि पालिकाभित्रका सम्पूर्ण कर्मचारीलाई हाजिरका आधारमा तलब पाउने बताएका हुन् ।

अध्यक्ष शाहीले भने, “अधिकांश कर्मचारीले काम नगरी तलब पाउने गरेको, जानकारीबिना नै कार्यालयमा अनुपस्थित हुने गरेको तर तलब पुरा पाउने गरेको अवस्था छ । तर अब हाजिर नभएको दिनको कर्मचारीहरूले तलब पाउँदैनन्। अब तलब बाँड्ने बेला हाजिर हेरेर बाँडफाँड गरिनेछ।”
अध्यक्ष शाहीले अनुगमनका क्रममा रामशाह प्राथमिक विद्यालयको हाजिरी फाइल हेरी अनुपस्थित भएको शिक्षकको हाजिर रातो लगाएका थिए।

अनुगमनमा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णु बहादुर शाही, ६ नं वडाका अध्यक्ष जय बहादुर सिरा, ४ नं वडाका अध्यक्ष पदम बहादुर शाही लगायत अन्य जनप्रतिनिधिहरु थिए।







