हिमालय एअरलाइन्स र अर्थोपेडिक अस्पतालबीच सहकार्य

चक्र दानी
२०८० श्रावण १ गते, सोमबार

काठमाडौं । नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्ने निजी क्षेत्रको हिमालय एयरलाइन्स र नेपाल अर्थोपेडिक अस्पतालबीच सहकार्य गरिने भएको छ । हिमालयले सामाजिक उत्तरदायित्वअन्तर्गत अस्पतालसँग सहकार्य गर्न लागेको विज्ञप्तिमार्फत जनाएको छ ।

एयरलाइन्सका अध्यक्ष झोउ एन्योङ्गले आज नेपाल अर्थोपेडिक अस्पतालका अध्यक्ष सामदेन लामा र मेडिकल निर्देशक डा कैलाशकुमार भण्डारीलाई दुई टनको स्ट्यान्डिङ एयर कन्डिसनर हस्तान्तरण गरेका हुन् ।

अस्पतालको सगरमाथा जनरल वार्डमा एयर कन्डिसनर जडान गरिएको छ । उक्त वार्डमा आवश्यकताका आधारमा आर्थिक अवस्था कमजोर भएका बिरामीले सस्तो सेवा शुल्कमा गुणस्तरीय अर्थोपेडिक सेवा पाउने अस्पतालले जनाएको छ ।

अस्पताल परिसरमा आयोजित हस्तान्तरण कार्यक्रमपछि एयरलाइन्सका अध्यक्ष एन्योङ्गले एयरलाइन्सले उडान क्षेत्रमा मात्रै नभई सामाजिक उत्तरदायित्वको क्षेत्रमा पनि सहयोग गर्ने बताए । उनले समाजप्रतिको जिम्मेवारी पूरा गर्नका लागि सहयोग गरिएको बताउँदै यस सहयोगबाट अस्पतालले थप गुणस्तरीय सेवा प्रदान गर्न मद्दत मिल्ने धारणा राखे ।

अध्यक्ष एन्योङ्गले अहिलेको सहयोगले आवश्यकता परेका बिरामीको उपचारमा सहज हुने बताए । उनले नेपाल अपाङ्ग सङ्घका पदाधिकारीद्वारा हेरचाह गरिने बालबालिकाका लागि अनाथ आश्रमका लागि पनि सहयोग गर्ने बताए । उनले एअरलाइन्सको इन्फ्लाइट पत्रिकाको नाफाबाट आउने केही अंश सामाजिक उत्तरदायित्वका लागि योगदान गर्ने प्रतिबद्धता जनाए। निर्देशक डा कैलाशकुमार भण्डारीले हिमालयकोतर्फबाट भएको मानवीय र उद्धार कार्यको प्रशंसा गरे ।

प्रकाशित मिति : २०८० श्रावण १ गते, सोमबार


Scroll to Top

Janata Media