भ्रष्टाचार लुकाउने प्रयास गरिएको छ : एमाले अध्यक्ष ओली

जनता संवाददाता
२०८० श्रावण १३ गते, शनिबार

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले भ्रष्टाचार लुकाउने प्रयास गरिरहेको आरोप लगाएका छन् ।

उनले भने, ‘सरकारको संलग्नता नहुँदासम्म एयरपोर्टजस्तो संवेदनशील क्षेत्रबाट सय किलो सुन निकासा हुनै सक्दैन, केही काम गरेको देखाएर भ्रष्टाचार लुकाउन सरकार लागि परेकोछ ।’

पुर्व प्रधानमन्त्री ओलीले नेपालगन्जमा शनिवारदेखि सुरु भएको लुम्बिनी प्रदेशका सबै तहका एमालेबाट विजयी जनप्रतिनिधिको दुई दिने प्रशिक्षण कार्यक्रमको उदघाटन गर्दै सो कुरा बताए ।

उनले सरकारले आफुलाई भ्रष्टाचार विरोधी भनेर जति हल्ला मच्चाइए पनि देशमा भ्रष्टाचार झनै मौलाएको हुनाले एमालेले गम्भीर भएर समीक्षा गरिरहेको बताए ।

एमाले अध्यक्ष ओलीले अहिलेको सरकार सुशासनको पक्षमा नरहेको र राष्ट्रप्रतिको जिम्मेवारीबोध पनि सरकारलाई नभएको आरोप लगाए । उनले थपे, ‘अन्तर्राष्ट्रिय विमानस्थल हुँदै सय किलो सुन विनासुइँको छिर्नु चानचुने कुरा होइन । यसबाट विमानस्थलबाट जे पनि छिराउन सकिने देखिएकाले शान्ति सुरक्षाका लागि ठूलो चुनौती थपिएको छ ।’

प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका ओलीले एमालेबाट निर्वाचित भएका जनप्रतिनिधिले सम्बन्धको आधारमा सिफारिस नगर्न निर्देशन दिंदै यो कुरा पार्टीका लागि घातक बन्न सक्ने बताए ।

उनले एमालेका जनप्रतिनिधिले गलत कार्यमा सिफारिस गर्न नहुने जनाउँदै जनप्रतिनिधि बदनाम हुनु भनेको पार्टी बदनाम हुनु हो भने । अध्यक्ष ओलीले एमाले पार्टीको मिसन ८४ लाई कसरी सफल बनाउनेतिर सबै नेता कार्यकर्ताले ध्यान दिन सबै तहका जनप्रतिनिधिलाई सो अवसरमा निर्देशन दिए ।

मिसन ८४ लाई लक्षितगरी ८४ सम्म योजनाबद्व तरिकाले जनतामुखी समाजसेवामा खट्न आग्रह गरे । दुई दिनसम्म चल्ने सो प्रशिक्षण कार्यक्रममा लुम्बिनी प्रदेशका १२ जिल्लाका तीनै तहका जनप्रतिनिधिको सहभागिता रहेको छ ।

प्रकाशित मिति : २०८० श्रावण १३ गते, शनिबार


Scroll to Top

Janata Media