
काठमाडौँ । बाग्लुङकी सिम्रन परियारले केही दिनअघि एक युट्युब च्यानलमा अन्तर्वार्ता दिइन् । सिम्रनले मीठो स्वरमा गीत गाउने गरेको पत्तो पाएपछि युट्युबर भोजराज थापाले उनकै गाउँमा पुगेर कुराकानी गरेका थिए । कक्षा १२ मा पढ्ने सिम्रनले स्कूलबाट फर्किँदै गर्दा बाटोमै कुराकानी गरेकी थिइन् । स्कूलको पोशाकमै गरेको कुराकानीका क्रममा उनले केही गीतहरू गुनगुनाइन् ।
उनले गीत गाउँदै गरेको भिडियो क्लिपहरू सामाजिक सञ्जालमा छाउँदै गए । सिम्रनको स्वरको धेरैले प्रशंसा गरे । केही दिनको अन्तरालमै उनी सामाजिक सञ्जालमा ‘भाइरल’ बनिन् । अनि काठमाडौंबाट प्रस्ताव पुग्यो, गीत रेकर्डको । चार दिनअघि काठमाडौं आएर एउटा गीत रेकर्ड गरिन् ।
गीतकार एवं संगीतकार सुनिल बिसीले यसअघि प्रमोद खरेलको स्वरमा आएको आफ्नो गीत ‘उसलाई पाउन २’को फिमेल भर्सन सिम्रनको स्वरमा रेकर्ड गराए । अघिल्लो दिन रेकर्डिङ स्टुडियोमै सामान्य खर्चमा भिडियो खिचियो । अर्को दिन हतार–हतारमा युट्युबमा सार्वजनिक गरियो ।
‘बागलुङकी सिम्रन परियारको पहिलो गीत’ भनेर ल्याइएको भिडियोको थम्बनेलमा युट्युबमा अन्तवार्ता दिँदै गर्दाको फोटो प्रयोग गरियो । शुक्रवार सार्वजनिक उक्त गीतले युट्युबमा राम्रो भ्युज पाउँदै संगीततर्फ ट्रेन्डिङको पहिलो स्थान ओगट्यो । अहिले पनि यो गीत युट्युबमा संगीततर्फ शीर्षस्थानमा छ ।
शुक्रवार नै सिम्रनलाई संगीतकार श्रीधर अधिकारीले ‘मुटुमै घाउ छ।’ बोलको गीत गाउन दिए, उसैगरी हतार–हतारमा । अघिल्लो दिन रेकर्डिङ र भिडियो छायांकन गरिएको गीत अर्को दिन सार्वजनिक गरियो ।
शनिवार मात्रै सिम्रनले एउटा गीतको भिडियो सुटिङ गरिन् । बेलुकापख स्टुडियो पुगेर अर्को गीत गाइन् । गायक अर्जुन सापकोटाले आफ्नो गीत ‘ए ठूली’को फिमेल भर्सन सिम्रनको स्वरमा रेकर्ड गराए । यो गीत सोमवार सार्वजनिक गर्ने तयारी छ । आइतवार दिउँसो सिम्रनको अभिनय रहेको भिडियो सार्वजनिक गरिएको छ ।
सिम्रनलाई अन्य थुप्रैले रेकर्डिङको प्रस्ताव गरिरहेका छन् । उनले केही गीत रेकर्ड गराइसकेकी छिन् । सिम्रनलाई रेकर्डिङका लागि मात्र होइन, लाइभ दोहोरीका लागि समेत प्रस्तावको ओइरो छ । उनी लाइभ दोहोरीमा पुगेर गाएको भिडियो समेत युट्युबमा आइसकेको छ । चर्चित टेलिसिरियलमा अभिनयका लागि समेत प्रस्ताव उनीकहाँ पुगिसकेको बुझिएको छ ।
सामाजिक सञ्जालमार्फत भाइरल भएपछि सांगीतिक बजारमा तानातान गरिने प्रवृत्ति पुरानै हो । यसअघि भाइरल भएका थुप्रै प्रतिभाहरू छन्, जो एक समय सिम्रनजस्तै तानातानमा पर्दथे ।
‘तरकारीवाली’ भनेर चर्चामा आएकी कुसुम श्रेष्ठ हुन्, वा बाल प्रतिभा गुल्मीका सचिव परियार किन नहुन्, एक समय निकै ‘भाइरल’ उनीहरू आज गुमनाम छन् । प्रेम परियार, बखत विष्ट, झक्कड थापा, नरेश पातली, मुना मगर, भेलु बाजेहरू पनि कुनै बेला यस्तै खोसाखोसमा पर्थे ।
सम्बन्धित क्षेत्रको आधारभूत ज्ञान नलिई आउने र पछि पनि साधना नगर्ने धेरै भाइरल प्रतिभाहरू केही समयमै गुमनाम हुन पुग्ने गरेको संगीतकर्मीहरू बताउँछन् ।
संगीतकार एवं संगीत संयोजक आशिष अविरल विगतमा ‘भाइरल’ भएर आधारभूत ज्ञानविना संगीतमा आएका थुप्रै प्रतिभालाई अहिले आफूले ‘गाह्रो’ अवस्थामा पाएको बताउँछन् । भाइरल हुनासाथ सांगीतिक क्षेत्रमा ल्याउने प्रवृत्तिले अवसर दिनेलाई भन्दा लिनेलाई बढी घाटा हुने गरेको उनको धारणा छ । चाँडै अवसर पाउँदा प्रतिभामा सिक्ने धैर्यता नहुन सक्ने उनले बताए ।
‘झट्ट हेर्दा सिम्रन बहिनीलाई अवसर दिइयो । उनले अवसर पाइन् । तर, उनीसँग सीमित नलेज छ । यति चाँडै उनले अवसर पाइन् भने २र३ घण्टा साधाना गरेर बस्ने धैर्यता हुँदैन,’ केही दिनयता भाइरल सिम्रनको सन्दर्भमा कुरा गर्दै संगीतकार अविरलले भने, ‘आफू चर्चित भइसकेको हुन्छ, उसमा सिक्न मन पनि लाग्दैन । सिक्ने ठाउँमा जाँदा नचिनिएका व्यक्तिहरू आएका हुन्छन् । ऊ भन्दा म चर्चित छु भनेर त्यहाँ बस्न मनले नमान्न सक्छ । अनि ऊ सँग भएको सीमित नलेज एकरदुईवटा काम गर्नासाथ सकिन्छ । त्यसपछि हुने रिपिटेसन हो । मानिसले रिपिटेसन पटक–पटक सुन्दैन् । त्यसपछि जाने भनेको तनावमै हो ।’
संगीतकार अविरलले सिम्रनले सिकेर आउनुपर्ने ठाउँमा सिधै गीत रेकर्ड गर्नु गलत भएको बताए । अवसर दिने व्यक्तिले व्यापारका लागि गीत गाउन दिए पनि आउने प्रतिभाहरूले सोच्नुपर्ने उनको भनाइ छ । ‘फिल्म हेरेर फिल्म बनाउन त जानिँदैन नि १ गीत सुनेर मात्रै पनि गीत गाउन जानिँदैन् नि,’ उनी भन्छन् ‘फिल्म बनाउन जसरी प्राविधिक विषयहरू जान्नुपर्छ, संगीतको पनि आफ्नै सैद्धान्तिक कुराहरू छन् ।’
अहिले भाइरल सिम्रनतर्फ इंगित गर्दै अविरलले अगाडि भने, ‘उनी कमसेकम आधारभूत ज्ञान लिएर आउँदा के फरक पथ्र्यो त रु ६ महिना, एक वर्ष संगीत सिकेर आउँदा पनि त हुन्थ्यो । आखिर तिनी भविष्यको तारादेवी पनि त हुन सक्छिन्, भविष्यको अञ्जु पन्त पनि त हुन सक्छिन् । तर, ती प्रतिभा फ्रस्टेसनमा गइन् भने देशले त सम्भावना बोकेको प्रतिभा पाउँदैन् नि १’
थुप्रै प्रतिभालाई पहिलोपटक गीत गाउने अवसर दिने संगीतकारमा पर्छन्, वसन्त सापकोटा । प्रेम परियारदेखि रचना रिमाल, समीक्षा अधिकारीसम्मले सापकोटाकै संगीतबाट गायनमा डेब्यू गरेका थिए ।
संगीतकार सापकोटा आफूले उनीहरूलाई भाइरलका रूपमा नभई प्रतिभा चिनेर अवसर दिएको बताउँछन् । भाइरल हुनासाथ सांगीतिक क्षेत्रमा ल्याइहाल्ने प्रवृत्तिलाई भने उनले अवसर र प्रयोग दुवै हिसाबले व्याख्या गरे । प्रतिभा भएको भाइरललाई अवसर दिनुलाई सकारात्मक रूपमा हेर्न सकिए पनि भाइरलले सिकाइ र क्वालिटीका सिर्जनामा ध्यान दिनु अत्यावश्यक रहेको उनको भनाइ छ ।
‘कोही प्रतिभा नभइकनै भाइरल भएका हुन्छन् । भाइरल भएको देखेर मात्रै ल्याउनु राम्रो होइन । तर प्रतिभा भएको व्यक्तिलाई ल्याउनुलाई नराम्रो भन्न मिल्दैन,’ उनले भने ।
भाइरल गायिका सिम्रनको सन्दर्भ जोड्दै सापकोटाले अगाडि भने, ‘उहाँको स्वर गर्ड गिफ्टेड छ । गुरुसँग बसेर संगीतको संगत गर्ने, स्वरलाई माझेर क्लालिटीका, आफ्नो स्वरलाई सुट हुने गीतहरू गाउने गर्नुभयो भने राम्रो हुन्छ ।’ गायक प्रमोद खरेल पनि सिम्रनलाई संगीत सिक्न सुझाव दिन्छन् ।
‘जहिले सकिन्छ, संगीत क्लास ज्वाइन गरिहाल्नु । मुख्य कुरा पढाइ हो, पढाइचाहिँ छोड्दै नछोडनू,’ स्टुडियोमा भेटघाटका क्रममा प्रमोदले सिम्रनलाई सुझाव दिँदै भनेका छन्, ‘मानिसले एक समय मन पराउनु र सधैं अडिएर हिँड्नुमा फरक छ । त्यसैले म्युजिक सिकेपछि म्युजिकले धेरै कुराहरू सिकाउँछ ।’ लोकान्तरबाट