इजरायल–प्यालेष्टाइन द्धन्द्ध: छ जनाको मृत्यु

जनता संवाददाता
२०८० आश्विन ३ गते, बुधबार

काठमाडौँ ।  इजरायल र प्यालेष्टाइनबीच जारी पछिल्लो द्धन्द्धमा छ जना मारिएका छन् । अधीनस्थ पश्चिमी किनारमा इजरायली सेनाले गरेको कारबाहीमा छ जना प्यालेष्टिनी मारिएका प्यालेष्टाइनका स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।

पछिल्ला दुईपक्षीय झडपका क्रममा मङ्गलबारसम्म चार जनाले ज्यान गुमाएकामा आज (बुधबार) थप दुई जना मारिएका उनीहरूले बताएका छन् । जेनिनस्थित शरणार्थी शिविरमा इजरायली सेनाले गरेको कारबाहीमा अन्य ३० जना घाइते भएका छन् ।

बितेका डेढ वर्षदेखि इजरायल र प्यालेष्टाइनबीच दिनहुँ झडप हुँदा गाजापट्टीलगायत स्थानमा हिंसात्मक घटना रोकिएका छैनन् । इजरायलले प्यालेष्टिनी क्षेत्रमा आक्रमण बढाएपछि प्रतिकारमा प्यालेष्टिनीहरूले पनि रकेट प्रहार गर्दै आएका छन् । आज बिहान एक जना प्यालेष्टिनी युवकले सुरक्षाफौजमाथि विष्फोटक पदार्थ प्रहार गरेपछि जवाफी कारबाही गर्दा ती युवकको मृत्यु भएको इजरायली सेनाले जनाएको छ । रासस/एपी

प्रकाशित मिति : २०८० आश्विन ३ गते, बुधबार


Scroll to Top

Janata Media