रारा जाँदै गरेको जिप दुर्घटना, विद्यार्थी र शिक्षकसहित १२ जना घाइते

जनता संवाददाता
२०८१ जेष्ठ १० गते, बिहीबार

बाजुरा । बाजुराबाट रारातर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । बिहीबार बाजुराको हिमाली गाउँपालिका–५ कोल्टिमा रहेको भवानी माध्यामिक विद्यालयका विद्यार्थीहरुलाई रारा घुमाउन ल्याउँदै गरेको ग १ ज ८२४९ नम्बरको जिप मुगुको खत्याड गाउँपालिका वडा–२ जाम हिलटप भन्ने स्थानमा दुर्घटना भएको हो ।

दुर्घटनामा चालक सहित १२ जना घाइते भएका हुन् । घाइते हुनेहरुमा नौं जना विद्यार्थी, दुई जना शिक्षक र चालक छन् । घाइतेमध्ये चालकको अवस्था गम्भीर रहेको प्रहरी नायव उपरिक्षक विरेन्द्र थापाले जानकारी दिए ।

घाइते चालक लालबहादुर भण्डारीको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको पनि प्रहरीले जनाएको छ । उनका अनुसार अरु सबैको अवस्था सामान्य रहेको छ । जिप सडकबाट २५ मिटर तल खसेको थियो ।

प्रकाशित मिति : २०८१ जेष्ठ १० गते, बिहीबार


Scroll to Top

Janata Media