हुम्लाको प्रदेश अधिवेशन प्रतिनिधि निर्विरोध चयन

जनता संवाददाता
२०८० आश्विन ६ गते, शनिबार

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) हुम्लाको कर्णाली प्रदेश अधिवेशनका लागि प्रदेश प्रतिनिधि निर्विरोध चयन भएका छन् । गाउँपालिकास्तर कमिटीको भेलाबाट ती प्रतिनिधि छनौट हुनु भएको हो ।

एमाले हुम्लाका कावा अध्यक्ष डबल रावतले जिल्लाका सात वटै गाउँपालिकाबाट सङ्गठित सदस्यका आधारमा ४८ जना प्रदेश अधिवेशन प्रतिनिधि निर्विरोध चयन भएको बताए ।

एमाले हुम्लाबाट प्राप्त भएको विवरणअनुसार प्रदेश प्रतिनिधि गाउँपालिका अनुसार नाम्खाबाट चार जना, सिमकोट गाउँपालिकाबाट आठ जना, खार्पुनाथ गाउँपालिकाबाट पाँच जना, सर्केगार्ड गाउँपालिकाबाट नौ जना, चंखेली गाउँपालिकाबाट चार जना चयन भएका छन् ।

त्यस्तै, अदानचुली गाउँपालिकाबाट १० जना र ताँजाकोट गाउँपालिकाबाट चार जना प्रदेश अधिवेशन प्रतिनिधि छनोट भएको कावा अध्यक्ष रावतले बताए ।

यसमा दलित क्लष्टरमा ६ जना दलित प्रतिनिधि छनोट भद्धएका छन् । कुल प्रतिनिधिमध्ये १० प्रतिशत युवा छनोट गरिएका छन् । सबै प्रतिनिधि सर्वसम्मत छनोट भएको एमाले हुम्लाले जनाएको छ ।

प्रतिनिधि छनोटका लागि एमाले हुम्लाबाट केन्द्रीय सदस्य हुनुभएका नेतालाई परिचालन गरिएको सो पार्टीले जनाएको छ । एमाले कर्णाली प्रदेशको प्रदेश अधिवेशन यही असोज ९ र १० गते सुर्खेतमा हुँदैछ ।

प्रकाशित मिति : २०८० आश्विन ६ गते, शनिबार