बझाङमा रविको चर्चा, दुई दिनपछि सङ्घीय सरकारको चासो

जनता संवाददाता
२०८० आश्विन १९ गते, शुक्रबार

‘भूकम्पले क्षति पुगेको बझाङ जिल्ला पुगेका छौँ । आज राति नै चैनपुर पुग्ने छौँ । राहत उद्दारमा सरकारलाई झक्झक्याउने छौँ । सकेको पहल गर्नेछौँ । रास्वपा बझाङका साथीहरू हिजैदेखि सहयोगमा जुट्नुभएको छ ।,’ यो राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवी लामीछानेले डडेलधुराबाट फेसबुकमा पोष्ट गरेको स्ट्याटस हो ।

त्यसअघि उनले भूकम्प आएकै दिन पनि लेख्नुभएको थियो, ‘आजको भूकम्पबाट बझाङ्ग, बाजुरालगायतका जिल्लाहरूमा क्षति पुगेको खवर आएको छ । प्रभावित क्षेत्रहरूमा उद्वार र राहत कार्यलाई तीव्रता दिन सरकार समक्ष अनुरोध गर्दछु । साथै, प्रशासनसँग सहकार्य गरी उद्धार कार्यमा सहयोगी बन्न रास्वपा सदस्यहरूलाई आग्रहसमेत गर्दछु ।’

सभापति रवी लामिछानेका यी दुई स्टाटसपछि मात्रै सङ्घीय सरकारले बैठक बोलाएको र बझाङको भूकम्पले पुर्‍याएको क्षतिबारे छलफल गरेको देखिएको छ ।

भूकम्पले प्रताडित बनेका बझाङबासी सामु रास्वपा सभापति रवी लामिछाने देखापर्दा सामाजिक सञ्जालमा र बझाङका टोलबस्तीमा वाहवाही भयो ।

डडेलधुराबाट बुधवार दिउँसो एक्कासी बझाङ हानिएका रवीले बझाङका भूकम्प पीडितलाई खुल्ला चौरमै बास बसिरहेको नियाले र सन्चोबिसन्चो सोधे ।

सभापति लामिछानेले राति अबेरसम्म सदरमुकाम चैनपुर, जिल्ला अस्पताल अवलोकन गर्दै पीडितसँग कुराकानी गर्दैगर्दा धेरैले स्वागत गरे ।

आज बिहीवार बिहानै उठेर केही राहत सामग्री प्रमुख जिल्ला अधिकारी नारायण पाण्डे समक्ष हस्तान्तरण गरे ।

त्यसपछि पत्रकारलाई छोटो समय दिएका रवीले आफू चुनाव केन्द्रित नभइ जनतालाई मल्हमपट्टी लगाउन र क्षतिबारे बुझेर सरकारलाई घचघच्याउन बझाङ आएको प्रतिक्रिया दिए ।

आफू बझाङ आउनुले मात्रै पनि राज्यको नजर पर्नेसमेत उनको दाबी थियो । त्यसपछि उहाँले कुरा छोट्याएर प्रभावित क्षेत्रतर्फ जान लागेको जानकारी दिए ।

रवी अहिले बझाङका पार्टीका पदाधिकारी र प्रशंसकसहित प्रभावित क्षेत्रको अवलोकनमा गएका छन् ।

प्रधानमन्त्री प्रचण्डलगायतका मन्त्री तथा जनप्रतिनिधि भने भोलि मात्रै बझाङमा भूकम्पले पुर्‍याएको क्षतिका बारेमा बुझ्न जाने निर्णय गरिएको छ ।

प्रकाशित मिति : २०८० आश्विन १९ गते, शुक्रबार


Scroll to Top

Janata Media