सहकारीलाई उत्पादनमा केन्द्रित बनाउनुपर्छ : मन्त्री शर्मा

जनता संवाददाता
२०८० आश्विन २५ गते, बिहीबार

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् नेपाल सरकारका प्रवक्ता रेखा शर्माले सहकारीहरूलाई उत्पादनमा केन्द्रित गर्नुपर्ने बताएका छन् ।

जिल्ला सहकारी सङ्घ प्युठानले आयोजना गरेको सहकारीको प्रवर्द्धनमा स्थानीय तहको भूमिका विषयक वृहत् अन्तरक्रियालाई सम्बोधन गर्दै उनले अहिले अधिकांश सहकारीहरू ऋण बचतमा मात्रै केन्द्रित भएको भन्दै यो प्रवृत्तिलाई राकेर सहकारीहरूलाई उत्पादनमा केन्द्रित गर्नुपर्ने बताएका छन् ।

‘‘सहकारीमा विविधीकरण ल्याउनु आवश्यक छ । धेरै सहकारीहरू बचत ऋणमा केन्द्रित भएको देखिन्छ । यसलाई विविधीकरण गर्दै उत्पादन, प्रशोधन, वितरण र उपभोगमा सहकारीको दायरा विस्तार गर्नु आवश्यक छ’’, उनले भने, ‘‘स्थानीय श्रम, सीप र पुँजीलाई अधिकतम रूपमा परिचालन गरी सहकारीलाई अर्थतन्त्रको एक सबल स्तम्भको रूपमा विकसित गर्न यसको विविधीकरणमा ध्यान दिनैपर्छ । कृषि उत्पादन, भण्डारण, प्रशोधन तथा बजारीकरण एवम् कृषि सामग्रीको आपूर्ति व्यवस्थापनमा कृषि सहकारी सङ्घ संस्थाहरूको संलग्न गराउनेतर्फ स्थानीय तहहरूले विशेष ध्यान दिनु आवश्यक छ ।’’स्थानीयस्तरमा क्रियाशील सहकारीहरू कृषि उत्पादनमा केन्द्रित हुनुपर्नेमा जोड दिनुहुँदै मन्त्री शर्माले ग्रामीण क्षेत्रमा स्थानीय श्रम, सीप र साधनमा आधारित कृषि सहकारी संस्थाहरूको सक्रियताबाट उत्पादन र वितरण सुदृढ गरी खाद्य सुरक्षा पनि सुनिश्चित गर्न सकिने बताए । प्युठानजस्तो भौगोलिक अवस्थिति भएको जिल्लामा कृषि सहकारीहरूलाई विशेष प्रोत्साहन गर्दै विशिष्टीकृत कृषि एवम् वनजन्य उत्पादनमा जोड दिने नीति स्थानीय तहहरूले बनाउनु उपयुक्त हुने उनको सुझाव थियो ।

स्थानीय तहहरूले सहकारी संस्थाहरूको अग्रसरता र संलग्नतामा सञ्चालन हुने उत्पादन, प्रशोधन र वितरणको कार्यलाई प्रोत्साहन गर्ने नीति बनाउनु आवश्यक रहेको औँल्याउदै उनले संविधानले समाजवादउन्मुख अर्थतन्त्रको परिकल्पना गरेको र सहकारीलाई तीन खम्बे अर्थनीतिको एउटा खम्मा मानेकाले अब सहकारीहरूलाई समाजवाद निर्माणको आधारको रूपमा स्थापित गर्नुपर्ने बताए ।

अर्थतन्त्रमा सहकारी क्षेत्रको भूमिका बढाउँदै गएमा घरेलु तथा साना, मझौला र सहकारितामा आधारित ठुला औद्योगिक व्यवसायको सञ्चालन गर्न सकिने उल्लेख गर्दै उनले यसतर्फ पनि सहकारीको भूमिका फराकिलो बनाउँदै लैजानुपर्ने बताए । परम्परागत उत्पादन र पेसा लोप हुँदै गएकाले सहकारीमार्फत यसको प्रवर्द्धन गर्न सकिनेमा उनले जोड दिए । पछिल्लो समय सहकारी क्षेत्रमा बेथितिहरू देखिन थालेको उल्लेख गर्नुहुँदै उनले केही सहकारी र सहकारीकर्मीबाट हुने बेथितिलाई सहकारी क्षेत्रकै कमजोरीको रूपमा लिन नहुने र त्यभित्रको कमजोरी स्वयम् सहकारी क्षेत्रले नै अन्त्य गर्नुपर्ने मन्त्री शर्माको जोड छ । राजनीतिमा केही नेताले भ्रष्टाचार गर्दा राजनीतिलाई बदनाम गर्ने, सहकारीमा लागेका केहीले कमजोरी गर्दा सहकारी क्षेत्रमाथि नै बदनाम गर्ने प्रवृत्ति गलत भएको भन्दै उनले अंशलाई टिपेर प्रणालीमाथि नै प्रहार गर्ने प्रवृत्तिविरुद्ध सचेत हुन उनले सबैलाई आग्रह गरे ।

राष्ट्रिय सहकारी महासङ्घका अध्यक्ष मिनराज कँडेलले देशभर सञ्चालित ३२ हजारमध्ये २३ हजार सहकारी स्थानीय तहकै मातहत रहेकाले सहकारीको प्रवर्द्धनमा सहकारीको भूमिका महत्त्वपूर्ण हुने बताए । देशभरका सहकारकर्मीमध्ये ५६ प्रतिशत महिला रहेको औँल्याउदै उनले यो समावेशिताको अभ्यास गर्ने महत्त्वपूर्ण थलो भएको र अब समाजवाद निर्माणको आधार बनाउन सकिने बताए ।

जिल्ला सहकारी सङ्घका अध्यक्ष सुशील पोख्रेलको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति : २०८० आश्विन २५ गते, बिहीबार


Scroll to Top

Janata Media