म्याक्सवेलको धुवाँदार दोहोरो शतकले अस्ट्रेलियाको शानदार जित

जनता संवाददाता
२०८० कार्तिक २२ गते, बुधबार

काठमाडौं । अलराउन्डर ग्लेन म्याक्सवेलको दोहोरो शतकमा अस्ट्रेलियाले आईसीसी एकदिवसीय विश्वकपमा अफगानिस्तानविरुद्ध तीन विकेटको शानदार जित निकालेको छ ।

मंगलबार भारतको मुम्बईस्थित वान्खडे रंगशालामा सम्पन्न खेलमा म्याक्सवेलले कीर्तिमानी ब्याटिङ गरेपछि अफगानिस्तानले प्रस्तुत गरेको २९२ रनको लक्ष्य अस्ट्रेलियाले १९ बल बाँकी रहँदै सात विकेट गुमाएर भेट्टायो ।

अस्ट्रेलियाको जितमा म्याक्सवेलले अविजित २०१ रन बनाए । जारी विश्वकपमा पहिलो दोहोरो शतक बनाएका म्याक्सवेलले १२८ बलमा २१ चौका र १० छक्का प्रहार गरे । अन्तर्राष्ट्रिय क्रिकेटमा यो म्याक्सवेलको अहिलेसम्मकै सबैभन्दा उच्च स्कोर हो ।

९१-७ को नाजुक स्थितिमा ब्याटिङका लागि आएका म्याक्सवेलले आठौँ विकेटको निम्ति कप्तान प्याट कुमिन्ससँग अविजित २०२ रनको साझेदारी गर्दै अस्ट्रेलियालाई अप्रत्याशित जित दिलाए । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा आठौँ विकेटका लागि भएको यो अहिलेसम्मकै सबैभन्दा ठूलो साझेदारी हो ।

म्याक्सवेलसँगै क्रिजमा जमेका कुमिन्सले १२ रन थपे । धैर्यपूर्ण ब्याटिङ गरेका उनले ६८ बल खेल्दा एक चौकामात्र प्रहार गरे । ९१ रनमा सात विकेट गुमाउँदा अस्ट्रेलियाको खातामा मिचेल मार्सले २४, ओपनर डेविड वार्नरले १८ र मार्नुस लाबुसचेग्नले १४ रन जोडे । यसबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् । अफगानिस्तानका नवीन उल हक, अज्मतुल्लाह ओमरजाई र राशिद खानले समान दुई विकेट लिए ।

त्यसअघि, टस जितेर ब्याटिङमा आएको अफगानिस्तानले निर्धारित ५९ ओभरमा पाँच विकेट गुमाएर २९१ रनको योगफल खडा गरेको थियो । अफगानिस्तानका इब्राहिम जद्रानले १२९ रनको अविजित इनिङ खेले पनि टिमलाई जित दिलाउन सकेनन् । राशिद खानले ३५, रहमत साहले ३०, हस्मतुल्लाह साहिदीले २६, अज्मतुल्लाह ओमरजाईले २२ र रहमनुल्लाह गुर्बजले २१ रन जोडे ।

अस्ट्रेलियाका जस हेजलवुडले दुई विकेट लिए । मिचेल स्टार्क, ग्लेन म्याक्सवेल र एडम जाम्पाले एक-एक विकेट लिए ।

जितसँगै सेमिफाइनल प्रवेश गरेको अस्ट्रेलियाले आठ खेलबाट १२ अंक जोडेको छ । अस्ट्रेलिया तालिकाको तेस्रो स्थानमा छ । यो हारले अफगानिस्तानको सेमिफाइनल सम्भावना भने कमजोर बनेको छ । समान खेलबाट आठ अंक जोडेको अफगानिस्तान तालिकाको छैटौँ स्थानमा छ ।

प्रकाशित मिति : २०८० कार्तिक २२ गते, बुधबार


Scroll to Top

Janata Media