केपी ओली कपमा कुशल भुर्तेलको विष्फोटक शतक

जनता संवाददाता
२०८० मंसिर १० गते, आईतवार

पोखरा । कास्कीको पोखरामा भइरहेको केपी ओली कप टी-२० क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबका ओपनर कुशल भुर्तेलले शतक प्रहार गरेका छ्न्।

मधेश प्रदेशविरूद्ध टस जितेर पहिले ब्याटिङ गरेको पुलिसका लागि कुशलले १०२ रन जोडेका हुन्। उनले ५७ बलमा ८ चौका र ७ छक्का प्रहार गरे। कुशलको शतकसँगै पुलिसले ५ विकेटको क्षतिमा १७५ रन जोड्यो।

पुलिसका लागि अर्का ओपनिङ ब्याट्सम्यान सुनिल धमलाले ४५ रन बनाए। उनले ४७ बलमा ४ चौका प्रहार गरे। धमला र कुशलबीच पहिलो विकेटका लागि १६ ओभरमा १३८ रनको साझेदारी भयो।

समूह ‘सी’ को यो खेलमा पुलिसका लागि करण केसीले ५ बलमा २ चौका र १ छक्का हिर्काउँदै नटआउट १६ रन जोडे। बलिङमा मधेशका विशाल पटेल र विशाल सुस्लिङले २-२ विकेट लिए।

१७६ रनको लक्ष्य पछ्याएको मधेश १८.२ ओभरमा ११८ रनमा अलआउट हुँदा पुलिसले ५७ रनको जित निकाल्यो। मधेशका लागि रुपेश सिंहले २५ बलमा ३ चौका र ३ छक्काको मद्दतमा ४० रन जोडे।

बलिङमा पुलिसका करण केसी, सागर ढकाल, रासिद खान र ललित राजवंशीले २-२ विकेट लिए।

प्रकाशित मिति : २०८० मंसिर १० गते, आईतवार


Scroll to Top

Janata Media