टी–२० वरीयतामा भारतीय युवा स्पिनर रवि बिश्नोई शीर्ष स्थानमा

जनता संवाददाता
२०८० मंसिर २० गते, बुधबार

काठमाडौँ । भारतीय क्रिकेट टोलीका युवा स्पिन बलर रवि बिश्नोई आईसीसी टी–२० वरीयताको शीर्ष स्थानमा उक्लिएका छन् । आईसीसीले सार्वजनिक गरेको टी–२० बलरको पछिल्लो वरियतामा बिश्नोईको नाम शीर्ष स्थानमा छ ।

बिश्नोईले गत वर्षको सुरुमा अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए तर लगातार उत्कृष्ट प्रदर्शनका बिच बिश्नोईले चार स्थान छलाङ लगाएर शीर्ष स्थानमा पुगेका हुन् । उनले अफगानिस्तानका बलर रासिद खानलाई उछिनेका छन् । यसअघि २३ वर्षीय बिश्नोई आईसीसीको वरियतामा पाँचौँ स्थानमा थिए ।

अस्ट्रेलियाविरुद्धको हालै खेलेको टी–२० सिरिजमा पनि बिश्नोईको प्रदर्शन उत्कृष्ट रह्यो र उनले प्लेयर अफ द सिरिजको उपाधि पाए । गत वर्ष फेब्रुअरी २०२२ मा वेस्ट इन्डिजविरुद्ध आफ्नो पहिलो खेल खेलेका बिश्नोईले अहिलेसम्म खेलेका २१ टी–२० अन्तर्राष्ट्रिय खेलमा कुल ३४ विकेट लिएका छन् ।

यो सूचीमा दोस्रो स्थानमा अफगानिस्तानका रासिद खान रहेका छन् भने तेस्रो स्थानमा श्रीलङ्काका वानिन्दु हसरांगा छन् । त्यसपछि क्रमशः इंग्ल्याण्डका आदिल रसिद र श्रीलङ्काका महिस थिकसाना शीर्ष पाँच स्थानमा रहेका छन् ।

इंग्ल्याण्डका साम करन छैटौँ, अफगानिस्तानका फजलहज फारुकी र मुजिब उर रहमान क्रमशः सातौँ र आठौँ स्थानमा छन् । नवौँ स्थानमा वेस्ट इन्डिजका अकिल होसेन र दशौँ स्थानमा दक्षिण अफ्रिकाका एनरिच नोर्टजे रहेका छन् ।एजेन्सी

प्रकाशित मिति : २०८० मंसिर २० गते, बुधबार


Scroll to Top

Janata Media