
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको अवरोध गर्ने विकास, परिवर्तन र समृद्धिका बाधक भएको बताएका छन् । एमाले अग्रगमनको पक्षधर भएकै कारण आफ्नो पार्टीविरुद्ध चौतर्फी घेराबन्दी भइरहेको उनको भनाइ छ ।
एमालेले सुरु गरेको झुलाघाट–चिवाभञ्जयाङ समृद्धिका लागि सङ्कल्प यात्राका क्रममा शनिबार पाँचथरको फिदिम आइपुग्नुभएका अध्यक्ष ओलीले फिदिममा आयोजित सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
अध्यक्ष ओलीले शान्ति, सद्भाव र एकता बिना विकास सम्भव नहुने टिप्पणी गरे। कोशी प्रदेशमा समृद्धिका लागि सयौँ आयोजना सञ्चालन गर्ने सम्भावना रहेका कारण निर्माणमा जुट्न युवालाई उनको आग्रह छ ।
युवा पुस्ता पहिले अनुत्पादक क्षेत्रमा लागेर समय बरबाद गर्ने, समय गुज्रेपछि विदेशीको घर र देश बनाइदिन जाने गरेको भन्दै उनले देशमा विकास आयोजना बन्दा युवा पुस्ता पलायन हुनबाट रोकिने बताए ।
सकारात्मक सोच र एकता हुने हो भने पहाडमा विकास र समृद्धिका पर्याप्त सम्भावना रहेको उनको भनाइ छ । अध्यक्ष ओलीले पहाडबाट बसाइँ सरेर तराई र सहरी क्षेत्रमा जानेक्रम रोक्न यसअघि निर्माण थालिएका मध्यपहाडी राजमार्ग, तमोर जलसायुक्त आयोजना, उत्तर दक्षिण लोकमार्ग र प्रत्येक पालिकामा निर्माण थालिएका पाँच शय्याका अस्पताल निर्माणले पूर्णता पाउनुपर्ने बताए ।
समृद्धिका लागि सङ्कल्प यात्राका क्रममा आफ्नो नेतृत्वका नेता कार्यकर्ता कोशी प्रदेशमा प्रवेश गरेपछि पहिचान पक्षधरका नेताले विरोध गरेको भन्दै उनले त्यसको अर्थ नभएको बताएका छन् ।
मङ्सिर १४ गते बैतडीको झुलाघाटबाट सुरु भएको एमालेको समृद्धिका लागि सङ्कल्प यात्रा शनिबार १७ औँ दिनमा पाँचथरको फिदिम आइपुगेको हो । उक्त यात्रा आइतबार मध्यपहाडी लोकमार्गको चिवा भन्ज्याङ पुगेर समापन हुँदैछ ।