भवन बने तर कामदारले पारिश्रमिक पाएनन्, भवन बेवारिसे !

जनता संवाददाता
२०८० फाल्गुन ६ गते, आईतवार

हुम्ला । हुम्लाको अदानचुली गाउँपालिका वडा नं १ कल्खेमा ३ वर्ष अगाडी बर्थिङ सेन्टर र स्वास्थ्य क्लिनिकको छुट्टाछुट्टै उपभोक्ता समिति मार्फत निर्माण गरियो । निर्माण कार्यका लागि बर्थिङ सेन्टरको कुल बजेट २५ लाख र स्वास्थ्य क्लिनिकको कुल बजेट २० लाख थियो ।

बर्थिङ सेन्टरको कुल बजेट २५ लाखमध्ये सामान खरिदका लागि ५ लाख, निर्माणका लागि २० लाख छुट्याईयो । निर्माण भईसकेपछि कन्टिजेन्सी कटाएर १८ लाख ५० हजार उपभोक्ता समितिको नाममा भूक्तानी भयो । तर न त निर्माण गर्ने कामदारले आफ्नो पारिश्रमिक पाए, न त स्थानीय सरकारलाई हस्तान्तरण नै गरियो ।

यो विषयमा स्थानीयसँग बुझ्दा अधिकांश कामदारले पारिश्रमिक नपाएको पाईएको हो । आफुले बर्थिङ सेन्टरमा काम गरेको अहिलेसम्म पनि पारिश्रमिक नपाएको भन्दै करिब अधिकांश स्थानीयले नाम नबताउने सर्तमा जनता मिडियासँग दुखेसो पोखेका छन् । अन्य १० जनाले आफ्नो नामसहित आफुले बर्थिङ सेन्टरमा काम गरेको तर अहिलेसम्म पारिश्रमिक नपाएको बताएका छन् ।

यो विषयमा उपभोक्ता समितिका अध्यक्ष मक्क महताराले १८ लाख ५० हजार भूक्तानी भएपछि ९ लाख आफूले राखेको, ४ लाख कोषाध्यक्ष दन्तकला दमाईलाई दिएको र ३ लाख सचिव बिर्जन थापालाई दिएको बताए । ‘रकम भूक्तानी हुने बित्तिकै मैँले ९ लाख राखेँ । ४ लाख कोषाध्यक्ष दन्तकला दमाईलाई दिएँ । ३ लाख सचिव बिर्जन थापालाई दिएँ । बाँकी २ लाख ५० अहिले मसँग छ । यो बाँकी रकम समितिसँग सल्लाह गरेर ११ गतेसम्म कामदारलाई पारिश्रमिक दिन्छौँ ।’ जनता मिडियासँग उनले भने ।

बर्थिङ सेन्टर उपभोक्ता समिति अध्यक्ष मक्क महतारा

यो विषयमा उपभोक्ता समितिका सचिव बिर्जन थापाले ३ लाखले आफुले लिएको बाँकी रहेको रकम कामदारलाई बितरण गर्ने बताए । ‘मैँले ३ लाख रुपैँया लगेकै हो । काठको काम गर्दा १ लाख ७० हजार खर्च भएको छ । त्यो कटाएर बाँकी १ लाख ३० हजार कामदार बाँड्न तयार छु ।’ जनता मिडियासँग उनले भने ।

बर्थिङ सेन्टर उपभोक्ता समिति सचिव बिर्जन थापा

यो विषयमा उपभोक्ता समितिका कोषाध्यक्ष दन्तकला दमाईले आफुले ४ लाख रुपिँया लगेको र बाँकी १ लाख मात्रै रहेको बताईन् । ‘मैँले सामान खरिद र ढुवानीका लागि छोरा(देवी दमाई) लाई पठाएकै हो २ लाख जति खर्च भैसक्या छ । बाँकी दुई लाख छ । त्यो पैसा कामदारलाई बाँड्न तयार छु ।’ जनता मिडियासँग उनले भनिन् ।

बर्थिङ सेन्टर उपभोक्ता समिति कोषाध्यक्ष दन्तकला दमाई

स्वास्थ्य क्लिनिकको विनियोजित रकम २० लाखमध्ये कोरोनाको समय थियो । त्यतिबेला सरकारले २० हजार कटाएर बाँकी १९ लाख ८० हजार रह्यो । उक्त रकममा कन्टिजेन्सी कटाएर १७ लाख ५४ हजार समितिको नाममा भूक्तानी भयो । त्यहि पनि निर्माण नभईकन…हो, समितिका अध्यक्ष बुद्धि महताराका अनुसार त्यतिबेला गाउँपालिकाका ईन्जिजियर मकरध्वज शाही र सहायक ओभरसियर बिनोद थापाले कागज मिलाएर रकम निकासा गरेको बताए । ‘मलाई केहिपनि थाहा थिएन । एक्कासी ईन्जिजियर मकरध्वज शाही र सहायक ओभरसियर बिनोद थापाले रकम निकासा हुन्छ । सिग्नेचर गर्नुपर्छ । जे भनेपनि हो भन्नुपर्छ । हामी डकुमेन्ट मिलाईदिन्छौँ । तर हामीलाई दुई लाख रुपिँया चाहिन्छ । तर उनीहरुलाई मैँले १ लाख ५० हजार मात्रै दिएँ ।’ जनता मिडियासँग उनले भने ।

स्वास्थ्य क्लिनिक उपभोक्ता समिति अध्यक्ष बुद्धि महतारा

निर्माण सम्पन्न भएको ३ वर्ष बित्यो तर अहिलेसम्म पनि अधिकांश कामदारले पारिश्रमिक पाएका छैनन् । यसमा अध्यक्ष महताराले कुनै व्यक्तिलाई आफ्नो ऋण कटाएर पारिश्रमिक दिएको जस्तो बनाएको पाईएको छ । तर अधिकांश कामदारले आफ्नो पारिश्रमिक पाएका छैनन् ।

भूक्तानी भएको १७ लाख ५४ हजार मध्ये अन्य रकम निर्माण कार्यमा लागेको र बाँकी २ लाख मान बहादुर थापाको रोहबरमा रगे दानीलाई दुई लाख दिएको र यसको पुरा जिम्मेवारी मान बहादुर थापा रहेको उपभोक्ता समितिका अध्यक्ष बुद्धि महताराले बताए । ‘अरु सबै रकम निर्माणमा लागिसक्यो । बाँकी कामदारलाई बितरण गर्न दुई लाख मात्रै छ । त्यो दुई लाख रुपिँया मान बहादुर थापाको रोहबरमा रगे दानीलाई बे्रकर किन्न दिँए तर मान बहादुर थापाले नेपालगन्ज गएर व्यक्तिगत तेल ल्याएछन् । मान बहादुर थापाले त्यतिबेला पनि यसको जिम्मेवारी सम्पूर्ण म हुन्छु भनेका थिए । त्यसकारण यसको पुरा जिम्मेवार थापा नै हुनुपर्छ । तर फागुन १८ गतेसम्म कामदारलाई रकम बाँडेरै छोड्छु ।’ जनता मिडियासँग उनले भने ।

यि दुई विषयमा वडाध्यक्ष अके महताराले वडाले बेला बेला कामदारलाई पारिश्रमिक दिएर हस्तान्तरण गर्न ताकेता गरेको तर तिन वर्षसम्म अटेर गरेको बताए । ‘अब हामी पनि सूचना निकाल्छौँ । कामदारलाई पारिश्रमिक दिएर जसरी भएपनि वडालाई हस्तान्तरण गर्नुपर्छ । नत्र हामी पनि ति समितिलाई के गनेै आफ्नै तरिकाले निर्णय गछौँ ।’ जनता मिडियासँग उनले भने ।

अदानचुली गाउँपालिका वडा नं १ का अध्यक्ष अके महतारा

वडाध्यक्ष महताराले कामदारलाई पारिश्रमिक बितरण गरी यथाशिघ्र भवन वडालाई हस्तान्तरण गर्न सम्बन्धित उपभोक्ता समितिलाई निर्देशन दिईसकेका छन् ।

बर्थिङ सेन्टरका अध्यक्ष मक्क महतारा अदानचुली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हंस महताराका सहोदर भाई हुन् । कोषाध्यक्ष दन्तकला दमाई हुम्ला क्षेत्र नं ख बाट निर्वाचित कर्णाली प्रदेश सभा सदस्य तथा नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक रनसिंह परियारकी सहोदर भाउजु हुन् । भने सचिव बिर्जन थापा स्थानीय बासिन्दा हुन् ।

स्वास्थ्य क्लिनिकका अध्यक्ष बुद्धि महतारा नेकपा माओवादी केन्द्रका अदानुली वडा नं १ का नेता हुन् ।

प्रकाशित मिति : २०८० फाल्गुन ६ गते, आईतवार


Scroll to Top

Janata Media