काठमाडौँ–तराई द्रुत मार्ग : सुरुङ निर्माणको काम तीव्र गतिमा

जनता संवाददाता
२०८० फाल्गुन ७ गते, सोमबार

काठमाडौं । काठमाडौँ–तराई द्रुत मार्गको पछिल्लो ६ वर्षमा ३०.९६ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । ललितपुरको खोकनादेखि बाराको निजगढसम्म ७०.९७७ किमी फास्ट ट्रयाक निर्माण कार्य करिब ३१ प्रतिशत भौतिक प्रगति भएको नेपाली सेनाले बताएको छ ।

द्रुत मार्गको निर्माण कार्य सुस्त देखिए पनि पछिल्लो समय फास्ट ट्रयाकमा पर्ने सुरुङ निर्माणको काम भने तीव्र गतिमा काम भइरहेको छ ।

नेपाली सेनाले काठमाडौँ–तराई द्रुत मार्गलाई १३ प्याकेज बनाई काम अघि बढाएको छ । काठमाडौँ–तराई द्रुत मार्गको अहिलेसम्म ५० किलोमिटर सडक निर्माणका लागि ठेक्का लागिसकेको छ भने पाँच वटा प्याकेजको ठेक्का लाग्न बाँकी रहेको नेपाली सेनाले बताएको छ ।

ठेक्का लागेका आयोजनाको काम तीव्र गतिमा भइरहेको र अहिलेकै गतिमा काम भए आगामी दुई वर्षमा भित्रै निर्माण कार्य सकिने नेपाली सेनाले जनाएको छ ।

काठमाडौँबाटै द्रुतमार्ग प्रवेश गर्ने प्याकेज ११ मा पर्ने खोकनामा जग्गा विवादले ६.५ किमी ठेक्का लाग्न बाँकी रहेको आयोजना प्रमुख विकास पोखरेलले बताए । उनले फास्ट ट्रयाक निर्माणका लागि आयोजना ठेक्का लाग्न नसके अगाडि बढ्न नसक्ने जानकारी दिए ।

उनले अहिलेसम्म १ देखि ७ सम्म र १० नम्बर प्याकेजको ठेक्का भइसकेको बताए। प्याकेज नम्बर ८ ‘क’ ९ ‘क’ र ‘ख’ ठेक्का लागेको धेरै समय भए पनि उच्च अदालतमा मुद्दा चलिरहेकाले काम हुन नसकेको उनको भनाइ छ । उनले अदालतले पनि राष्ट्रिय गौरवको आयोजना भएकाले यसलाई प्राथमिकता दिएर छिटो मुद्दा टुङ्गो लगाए फास्ट ट्रयाक निर्माणका लागि अगाडि बढाउन सहज हुने अवस्था रहेको धारणा राखे ।

प्रमुख पोखरेले सडक ठेक्का लगाउन विवादमा सहमति भए र अदालतले पनि तत्काल मुद्दा किनारा लगाई दिए समय अवधिमा नै आयोजना निर्माण कार्य सम्पन्न गर्न सकिने अपेक्षा रहेको बताए । उनले प्याकेज ८ ‘ख’को पुनः ठेक्काका लागि आर्थिक प्रस्ताव मूल्याङ्कनका क्रममा रहेको भन्दै केही दिनमा टुङ्गो लग्ने बर्ताए । उनले चालु आर्थिक वर्षको लक्ष्य हेर्दा ९९ प्रतिशत लक्ष्य पूरा गरेको उल्लेख गरे । उनले नेपाली सेनालाई प्राप्त भएको जिम्मेवारी आगामी २०८३ चैतसम्म सम्पन्न गर्ने लक्ष्यमा काम गरिरहेको बताए ।

त्यस्तै, काठमाडौँ–तराई द्रुत मार्गअन्तर्गत निर्माण हुने ६ वटा सुरुङ मार्गमध्ये तीनवटा सुरुङको निर्माण जारी रहेको छ । यसरी समग्र सुरुङ मार्गको भौतिक प्रगति ६७.४३ प्रतिशत रहेको सेनाले बताएको छ । सडक मार्गमा लेनडाँडामा १.४३०, धेद्रेमा १.६३० र महादेवटारमा ३.३५५ किसिमका ३ वटा सुरुङ निर्माणाधीन रहेका छन् । बाँकी तीन वटा देवीचौर, सिसौटार र चन्द्राम सुरुङ प्याकेज ८ को ‘ख’ र १० नम्बर प्याकेजमा पर्ने भए पनि जमिनको बनावट कमजोर भएकाले विकल्पमा सुरुङ निर्माण गर्न लागिएको बताएको छ । निर्माण भइरहेको सुरुङ मार्ग काठमाडौँबाट निजगढतर्फ जाँदा एउटा र निजगढबाट काठमाडौँतर्फ आउँदा अर्को छुट्टै सुरुङ प्रयोग गर्नुपर्ने भएकाले एक ठाउँको सुरुङलाई चारतर्फबाट खनिएको छ ।

द्रुत मार्गका तीन वटै सुरुङमार्गको ठेक्का चिनियाँ कम्पनीले पाएर निर्माण कार्य तीव्र रूपमा गरिरहेको आयोजनाले बताएको छ । बाँकी तीन वटा निर्माण कम्पनीका इन्जिनियर विनायक शर्माले महादेवटारमा ३.३५५ किमीमध्ये १.९४८ किमी सुरुङ खन्ने काम सकिएको बताए । उनले अब उक्त सुरुङ मार्ग १.४०५ किमी मात्र खन्न बाँकी रहेको भन्दै आगामी दसैँ तिहारको बिचमा ब्रेक थ्रु गर्ने योजना रहेको जानकारी दिए ।

उनले धेद्रे सुरुङमार्गको १.६३० किमीमध्ये १.१७३ किमी सुरुङ खन्ने काम सकिएको बताए । शर्माले धेद्रे सुरुङमार्गको यही गतिका निर्माण कार्य भए आगामी जेठ महिनासम्म ब्रेक थ्रु गर्ने योजना रहेको बताए । उहले १.४३० किमी दूरी रहेको लेनडाँडा सुरुङ १.२०४ किमी खनिसकिएको बताए । उनले ३ वटा सुरुङको कुल दूरी ६.४१५ किमी रहेकामा अब २.०९ किमी मात्र खन्न बाँकी रहेको बताए ।

उनले भने, ‘‘अहिले महादेवटार सुरुङ निर्माणको कार्य तीन सिफ्टमा काम भइरहेको छ । यहाँ दुई वटा सुरुङ निर्माण कार्य तीव्र गतिमा भइरहेको छ । जसमा बायाँ साइटको सुरुङ दुई हजार ४० किलोमिटर दूरी खनी सकिएको छ । दायाँ तर्फको सुरुङ पनि एक हजार ८७५ मिटर खनी सकिएको छ ।

यसमा ६० प्रतिशत सुरुङ खन्ने काम सकेका छौँ । यही गतिमा महादेवटार सुरुङ निर्माणको कार्य भयो भने आगामी दसैँ तिहारको बिचमा ब्रेक थ्रु गर्ने योजना रहेको छ । त्यस्तै अर्को धेद्रे सुरुङमार्ग लम्बाई एक हजार ७२८ मिटर हो । यो सुरुङ मार्गको पनि एक हजार १३५ मिटर खनी सकिएको छ ।

त्यसकै अर्को सुरुङ मार्गको लम्बाई एक हजार ६२२ मिटरमा एक हजार २२८ मिटर खनी सकिएको छ । यही गतिमा काम भए यो सुरुङ मार्गलाई आगामी जेठमा सक्ने योजनामा छौँ ।’’

द्रुतमार्गमा ८९ वटा पुनर्निर्माण गरिँदै छन् । आकर्षक देखाउन आर्क ब्रिज निर्माण पनि गरिएको छ भने सबै पुलको कुल दूरी १२.८८ किमी रहेको छ । प्याकेज १ देखि ७ सम्म दुई हजार ८ सय २ वटा फाउण्डेसन राखिनेछ । त्यसमध्ये एक हजार ६६५ वटा पायल निर्माण सकिई पुल निर्माण भइरहेका छन् । ६७ पुल निर्माणाधीन हुँदा १८ वटा खरिद प्रक्रियामा छन् ।

महादेवटार र धेद्रे सुरुङ जोड्न अग्लो पुल निर्माण भइरहेको छ । धेद्रे सुरुङबाट लेनडाँडा सुरुङ जोड्न जमिन सतहबाट ८३ मिटरको सबैभन्दा अग्लो पुल निर्माण पनि भइरहेको छ । कोरियन कन्सल्टेन्ट कम्पनीका चिफ ब्रिज इन्जिनियर डोङ किमले दुई तर्फीका लागि दुई वटा पुल बन्ने जानकारी दिए । उनले एउटा २७० मिटर लामो र अर्को २४५ मिटर लम्बाईकन पुल बन्ने बताए । उनले यी पुल काठमाडौँको धरहराभन्दा अग्ला रहेको उल्लेख गरे ।

त्यस्तै, नेपाली सेनाका महासेनानी तथा द्रुतमार्ग अपरेसन इन्चार्ज इन्दीवर गुरुङले द्रुतमार्गमा सुरुङ मार्ग र पुल निर्माणसँगै अग्ला पहाडमा कटानको काम भइरहेको बताए । उनले सुरुङमार्ग बनाउन दूरी कम रहेका अग्ला स्थान कटान गरी एक्सप्रेस वे निर्माण भइरहेको उल्लेख गरे ।

उनले डाँडालाई ‘स्लोप’ गरी कटान गरिएको भन्दै स्लोपमा कटान गर्दा बढी जग्गा अधिग्रहण गर्नुपरेको बताए । उनले नेपालमा निर्माणाधीन धेरै सडकमा पहिरोको जोखिम रहेको भन्दै त्यसलाई हेरेर द्रुतमार्गमा रोकथाम गर्न बायो इन्जिनियरिङमा बढी ध्यान दिएको बताए ।

सेनाले २०८१ मङ्सिरभित्र काम सकिसक्नुपर्ने भए पनि उक्त अवधिमा काम नसकिने भएपछि ०८३ चैतसम्म म्याद थप गरिएको छ । यसको सुरु अनुमानित बजेट एक खर्ब ७५ अर्ब रुपियाँ भएपनि म्याद थपसँगै लागत पनि दुई खर्ब ११ अर्ब ९३ करोड रुपियाँ पुर्‍याइएको छ । अहिलेसम्म ३१।५७ प्रतिशत खर्च भइसकेको छ ।

प्रकाशित मिति : २०८० फाल्गुन ७ गते, सोमबार


Scroll to Top

Janata Media