प्रधानमन्त्री कप : अपराजित पुलिस फाइनलमा

जनता संवाददाता
२०८१ चैत्र १२ गते, मंगलवार

काठमाडौँ । विभागीय टोली नेपाल पुलिस क्लब प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

दाङको लमही क्रिकेट मैदानमा मङ्गलबार भएको खेलमा पुलिसले कर्णाली प्रदेशलाई ४४ रनले हरायो । पुलिसले अपराजित रहँदै लगातार आठौँ जित निकालेको हो ।

जितका लागि पुलिसले दिएको एक सय ४८ रनको लक्ष्य पछ्याएको कर्णाली २४ ओभरमा सबै विकेटको क्षतिमा एक सय तीन रनमा समेटिएको थियो । कर्णालीका लागि रविन्द्र शाहीले सर्वाधिक ४९ रन बनाए । अर्जुन घर्तीले ३० जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

बलिङमा पुलिसका ललित राजवंशी एक्लैले ६ विकेट लिए । सागर ढकालले दुई तथा करण केसीले एक विकेट लिए । यसअघि पहिलो ब्याटिङ गरेको पुलिसले ४८ ओभरमा सबै विकेटको क्षतिमा एक सय ४७ रन बनाएको थियो ।

पुलिसका लागि अर्जुन साउदले सर्वाधिक ३६ रन बनाए । यस्तै दीलिप नाथले ३४ र सागर ढकालले २२ रन बनाए । बलिङमा कर्णालीका अनुज चनराले चार विकेट लिए । दीवन पुनले तीन तथा दीनेश अधिकारी, दीपेन्द्र रावत र सुनिल धमलालले एक एक विकेट लिए ।

जितसँगै आठ खेलबाट १६ अङ्क जोडेको पुलिस लिग चरणको एक खेलअघि नै फाइनलमा प्रवेश गरेको हो । पुलिसले लिग चरणको अन्तिम खेलमा अब त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ । अपराजित कर्णालीको नौ खेलबाट आठ अङ्क बनाएको छ ।

यस्तै बुटबलको एक्स्ट्राटेक ओभल मैदानमा भएको अर्को खेलमा मधेश प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ४४ नै रनले हराएको छ। जितका लागि एक सय तीन रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २९ ओभरमा सबै विकेटको क्षतिमा ५८ रनमा समेटिएको थियो ।

सुदूरपश्चिम र मधेश यसअघि नै उपाधि होडबाट बाहिरिसकेको छ । सुदूरपश्चिमले प्रतियोगिताको सबै खेल सकेको छ भने मधेशले लिगको अन्तिम खेल बागमतीसँग खेल्न बाँकी छ ।

 

प्रकाशित मिति : २०८१ चैत्र १२ गते, मंगलवार


Scroll to Top

Janata Media