‘संसद बैठक अवरुद्ध गर्ने काम राजनीतिक होइन’

जनता संवाददाता
२०८० चैत्र ८ गते, बिहीबार

काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली काँग्रेसले संसद अवरुद्ध पारेर अराजनीतिक काम गरिरहेको आरोप लगाएका छन् ।

अध्यक्ष ओलीले सरकारबाट हट्नुपरेको पीडामा निहुँ खोजेर कांग्रेसले संसद् अवरुद्ध गरिरहेको उनको टिप्पणी छ ।

नेपाल उत्पीडित जातीय मुक्ति समाजद्वारा बिहीवार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा आयोजित कार्यक्रममा उनले सो कुरा बताएका हुन् । लोकतन्त्रमा राजनीतिलाई सबैको समृद्धि, खुशी र सम्मानसहितको राजनीतिक व्यवस्थाको रुपमा उपयोग गर्न पाउनुपर्ने उनले बताए ।

एमालेले सबै समुदायको सुरक्षा र सम्मानसहितको ‘समृद्ध नेपालः सुखी नेपाली’ को राष्ट्रिय आकांक्षालाई सम्बोधन गर्न चाहेको अध्यक्ष ओलीले बताए ।

उनले भने, ‘डेमोक्रेसी किन चाहियोभन्दा यी कुराहरुका लागि चाहियो । संसदमा सरकारबाट हट्नुपपर्छ भनेर निहुँ खोजेर संसद् अवरुद्ध गर्ने, च्याँठिने, आक्रोश पोख्ने, छाती पिटेर रुने ठाउँ होइन । हामीले समाजको उन्नतिका लागि, प्रगतिका लागि, समानताका लागि, शान्ति सुव्यवस्थाका लागि, स्वच्छताका लागि, पारदर्शिताका लागि राजनीति गर्नुपर्छ ।’

समृद्ध नेपालः सुखी नेपालीको प्यारामिटरमा अधिकार मात्र होइन, सुरक्षा र सम्मान पनि जोडिएको छ उनले भने, “असुरक्षा र असम्मानको स्थिति, अपमानको स्थितिबाट हाम्रो समाज गुज्रिएर आएको छ । त्यसकारण हामीलाई सुरक्षा र सम्मान चाहिन्छ ।” संसद् बैठक प्रभावितभन्दा पनि चलायमान बनाएर जनताको पक्षमा काम गर्नुपर्ने उनले बताए ।

अध्यक्ष ओलीले सबै समुदायको सुरक्षा र सम्मानलाई ध्यानमा राखी राजनीतिक गतिविधिलाई अघि बढाउनु पर्ने आवश्यकता रहेको चर्चा गरे ।

प्रकाशित मिति : २०८० चैत्र ८ गते, बिहीबार


Scroll to Top

Janata Media