अकुत सम्पत्ति आर्जन गरेको आरोपमा शाखा अधिकृत कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

जनता संवाददाता
२०८० चैत्र ८ गते, बिहीबार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं उपत्यका विकास प्राधिकरणका शाखा अधिकृत याम कुमार कार्कीविरुद्ध अकुत सम्पत्ति आर्जन गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

तीन करोड रुपैयाँभन्दा बढी सम्पत्तिको स्रोत नखुलेको भन्दै अन्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।कार्कीले पदीय मर्यादा विपरीत सरकारी जग्गालाई व्यक्तिको नाममा दर्ता गराई गैर कानुनी रूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको उजुरी अख्तियारमा परेको थियो ।

सो सम्बन्धमा छानबिन हुँदा उनको तीन करोड एक्काइस लाख बत्तीस हजार नौ सय छपन्न रुपैयाँ पचहत्तर पैसा बराबरको सम्पत्ति वैधानिक देखिएकाले सोही बराबरको रकम बिगो मागदाबी लिइएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

शाखा अधिकृत कार्की काठमाडौं उपत्यका विकास प्राधिकरण, जिल्ला आयुक्तको कार्यालय, काठमाडौं अन्तर्गत वाग्मतीनगर जग्गा एकीकरण आयोजनाको कार्यालय, बौद्धमा कार्यरत छन् ।

साथै गैरकानूनी रूपमा आर्जन गरेको पैसाबाट छोरी र श्रीमतीको नाममा जग्गा र सम्पत्ति खरिद गरेको पाइएको छ । उक्त जग्गा र सम्पत्ति जफत एवं असुलउपर गर्ने प्रयोजनका लागि मात्र पत्नी र छोरीलाई समेत प्रतिवादी कायम गरिएको प्रवक्ता घिमिरेले बताए ।

प्रकाशित मिति : २०८० चैत्र ८ गते, बिहीबार


Scroll to Top

Janata Media