हिल्दुमका किसानमा तरकारी खेतीको मोह

जनता संवाददाता
२०८० चैत्र ११ गते, आईतवार

सिमकोट, (हुम्ला) :  हुम्लाको सिमको गाउँपाकिा–४ हिल्दुम गाउँका पूरै किसान यति बेला तरकारी खेतीमा व्यस्त छन्। झन्डै ५६ घरधुरी रहेको हिल्दुम गाउँका किसानले केही वर्ष यतादेखि गाउँमै तरकारी राम्रो फलाउँदै आएका छन्।

सुरुमा गाउँका एक–दुई किसानले प्लास्टिकको घर (ग्रिनहाउस) निर्माण गरी तरकारी खेती गर्दै आएका थिए। पछिल्ला केही वर्षमा पूरै गाउँ नै तरकारी खेतीमा आकर्षित भएर राम्रो उत्पादन गर्दै आएको गुणनेवर इन्टरनेसनलका कृषि प्राविधिक जङ्गबहादुर शाहीले बताए।

उनले भने, ‘अहिले आफ्नो संस्थाले नौ जना हिल्दुम गाउँका किसानलाई तरकारी खेतीका लागि प्लास्टिक, हजारी, रबरको पाइप, तरकारीको बीउ सहयोग गरेको छ।’

हिल्दुम गाउँका किसानलाई बिस्तारै तरकारीमा आत्मनिर्भर बनाउनेतर्फ लाग्ने भएको शाहीले बताए। व्यावसायिक कृषि अँगालेका किसान मेहनत अनुसारको कमाइबाट सन्तुष्ट छन्। कृषि गर्नेमा अधिकांश पाका उमेरका छन्। बेलाबखत पाइने तालिम, अनुदान र उपकरण सहयोगले पनि किसानलाई तरकारी खेतीमा प्रोत्साहन मिल्ने गरेको शाहीले बताए।

हिल्दुम गाउँमा उत्पादित तरकारी खपत हुने मुख्य बजार सदरमुकाम सिमको हो। तरकारीसँगै अन्नबाली, खेत खनजोत, गाईबस्तु, र मौरी पालनमा समेत किसान व्यस्त छन्। तरकारी खेतीबाट आफ्नो परिवारको जीविका चलेको स्थानीय महिला धुनसुब्बा सुनारले बताइन्। तरकारीमा साग, काउली, बन्दा, धनीयालगायत उत्पादन गर्दै आएको सुनारले जानकारी दिइन्।

कृषक सुनारले भनिन्, ‘एक डोको साग र धनियाँ सदरमुकाम सिमकोटमा बिक्री भयो भने एक हजार दुई सयदेखि एक हजार पाँच सयसम्म आम्दानी हुने गर्दछ।’ दैनिक बिक्री गर्न पाए आम्दानी राम्रो हुने सुनारको भनाइ छ। हप्ताको तीन–चार दिन तरकारी बिक्री गर्न सदरमुकाम सिमको पुग्ने गरेको उनले बताइन्।

बालबच्चाको कापीकलमदेखि घरमा नुन, तेल किन्न पुगेको सुनारले सुनाइन्। तरकारी खेती गर्दा रोग लागेमा स्थानीय प्रविधिबाट औषधि बनाएर रोग नियन्त्रण गर्ने गरेको उनले जानकारी दिइन्।

स्थानीय सकुन्तला शाही पनि कृषि काममा व्यस्त छिन्। उनी यति बेला ग्रिनहाउसमा तरकारी फलाउनमा व्यस्त देखिन्छिन्। हिउँदको समयमा गाउँमा उत्पादित तरकारीले बजार राम्रो पाउने गरेको कृषक शाहीको भनाइ छ।

वर्षायाममा सबैले तरकारी खेती गरेर उत्पादन गर्ने हुने हुँदा खपत कम हुने गरेको शाहीले बताइन्। हिउँद याममा आफूजस्ता किसानका लागि आम्दानीको स्रोत राम्रो हुने गरेको उनले बताइन्। आजभोलि सदरमुकाममा लिएर एक मुठा साग र धनियाँको रु ३० र काउली तथा बन्दाको ४० मा बिक्री गर्दै आएको उनको भनाइ छ। एक दिनमा दुई हजारसम्म आम्दानी हुने गरेको शाहीले बताइन्।

हिल्दुम गाउँका किसानले कसैले विभिन्न कृषिसम्बन्धी काम गर्ने सङ्घसंस्थाबाट प्लास्टिकका पाल सहयोग पाएका छन् भने कसैले आफ्नै व्यक्तिगत खर्चमा लगानी गरेर पाल किनेर तरकारी खेती गरेका छन्। गाउँका सबैले यति बेला आफ्नो घर अगाडि रहेका खेतबारीमा तरकारी फलाउँदै आएका छन्। गाउँमा फलाएको तरकारी बिक्री गर्न सदरमुकाम सिमको लैजान ३० मिनेट समय लाग्ने गरेको छ।

गाउँमा सडकले नछोएको भए पनि डोकोमा बोकेर तरकारी बिक्री गर्न किसान सिमको पुग्ने गर्दछन्। युवा पुस्तामा तरकारी खेतीको आकर्षण नदेखिए पनि गाउँमा रहेका उम्मेर छिपिएका महिला तथा पुरुषले यो व्यवसाय गर्दै आएका छन्। गाउँमा सिँचाइ नभए पनि वर्षायाममा यहाँका किसानले आकाशे पानीको भरमा तरकारी फलाउँदै आएका छन् ।

कृषकले हिउँदयाममा भने प्लास्टिकको घर निर्माण गरी तरकारी फलाउँछन्। जिल्लाका अन्य बस्तीमा कमै मात्र किसान तरकारी खेतीमा लागेको पाइन्छ।  हिल्दुम गाउँका ५६ घरधुरी सबै तरकारी फलाउँछन्। गाउँमा फलेको साग, धनियाँ, काउली, बन्दाले सदरमुकाम सिमकोटमा राम्रो बजार पाउनाका साथै बिक्री हुने गरेको छ। रासस

प्रकाशित मिति : २०८० चैत्र ११ गते, आईतवार


Scroll to Top

Janata Media