डेढ दशकदेखि क्याम्पसको ३५ बिघा जग्गा सुकुम्वासीको कब्जामा

जनता संवाददाता
२०८० चैत्र २३ गते, शुक्रबार

घोराही । दाङको घोराहीस्थित महेन्द्र बहुमुखी क्याम्पसको ३५ बिघा जग्गा विगत डेढ दशकदेखि सुकुमवासी तथा भूमिहीनको नाममा कब्जामा छ । त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पसका रूपमा रहेको क्याम्पसको करिब ८३ बिघा जग्गामध्ये देउखुरीमा रहेको ३५ बिघा जग्गा विगत १५ वर्षदेखि सुकुमवासी तथा भूमिहीनको नाममा कब्जामा परेको हो ।

क्याम्पसको नाममा लमही नगरपालिका र राजपुर गाउँपालिका अन्तर्गत टिकलीगढमा ३५ बिघा ११ कट्ठा १७ धुर जग्गा कब्जामा छ । सतबरियामा ३५ बिघा १६ कट्ठा र सतबरियामै १० बिघा १५ कट्ठा १६ धुर गरेर करिब ८२ बिघा चार कट्ठा १३ धुर जग्गा रहेको छ । महेन्द्र बहुमुखी क्याम्पस घोराहीका प्रमुख भरतराज न्यौपानेले उक्त जग्गामध्ये टिकुलीगढको ३५ बिघा जग्गा डेढ दशकदेखि सुकुमवासी तथा भूमिहीनको नाममा कब्जा गरेर सयौँ घर निर्माण गरेर बसोबास गरिरहेको जानकारी दिए । त्यसै गरी क्याम्पसको सतबरियामा रहेको जग्गाको अधिकांश भाग राप्ती नदीको बगरमा पर्ने भएका कारण वार्षिक ५०र६० हजार रुपियाँमा दिने गरी भैँसीपालन गर्ने किसानले भाडामा लगेको क्याम्पस प्रमुख न्यौपानेले बताए ।

क्याम्पस प्रमुख न्यौपानले भने, “राम्रो खेतीयोग्य जमिन कब्जामा परेको दशकभन्दा बढी भइसक्यो, फिर्ता भएको छैन । बाँकी रहेको जमिन राप्ती नदीको बगरमा परिणत भएको छ । त्यो जमिन भाडामा लगाउँदा पनि जाँदैन ।” कब्जामा रहेको जग्गा फिर्ताका लागि प्रयास भए पनि सफल हुन नसकेको क्याम्पस प्रमुख न्यौपानेले बताए । क्याम्पस प्रमुख न्यौपानले भने, “कब्जामा रहेको जग्गा फिर्ताका लागि पहल गरिदिनका लागि भन्दै क्याम्पसले विगतमा एकरदुई पटक जिल्ला प्रशासन कार्यालय र लमही नगरपालिकालाई पत्र लेखेको थियो तर कुनै प्रकारको पहल भएको पाइएको छैन ।”

उहाँले क्याम्पसको मुख्य आम्दानीको स्रोतका रूपमा रहेको उक्त जग्गा कब्जामा परेपछि समस्या भएको बताए। भर्खरै पनि क्याम्पससँगै स्ववियुले क्याम्पसको वर्षौंदेखि कब्जामा रहेको जग्गा फिर्ता ल्याउनका लागि प्रशासनलाई पत्र लेखेर आग्रह गरेको उनले बताएका छन् । उक्त जग्गा २०६६ सालमा कब्जामा परेको क्याम्पस प्रशासनले जनाएको छ । उक्त जग्गामा तीन सयभन्दा बढी सुकुमवासी तथा भूमिहीन घर निर्माण गरेर बसोबास गर्दै आएका छन् । कब्जा गरिएको जग्गाबाट तत्कालीन समयमा वार्षिक करिब पाँच लाख रुपियाँ आम्दानी हुने गरेको क्याम्पस प्रशासनले जनाएको छ ।

क्याम्पसको जग्गा कब्जा गरेर बस्नेलाई राजनीतिक संरक्षण भएकाले प्रशासनले पनि जग्गा फिर्ता ल्याउन पहल गर्न नसकेको क्याम्पस प्रमुख न्यौपानेले बताए । क्याम्पसमा अध्ययरनत विद्यार्थीलाई खेल्ने खुला ठाउँसमेत नभएको अवस्थामा देउखुरीमा रहेको जग्गा वर्षौंदेखि अतिक्रमणमा पर्नु दुःखद भएको महेन्द्र बहुमुखी क्याम्पस स्ववियु सभापति मनोज डिसी बताउँछन् ।

प्रकाशित मिति : २०८० चैत्र २३ गते, शुक्रबार


Scroll to Top

Janata Media