महत्त्वपूर्ण योजनामा युद्धस्तरमा काम गर्नुपर्छ : मन्त्री ज्वाला

जनता संवाददाता
२०८० श्रावण २७ गते, शनिबार

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले राष्ट्रिय गौरवका आयोजना, रूपान्तरणकारी योजना र अन्य महत्त्वपूर्ण योजनाहरूमा युद्धस्तरमा काम गर्न निर्देशन दिएका छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आज आयोजना गरेको प्रगति समीक्षा कार्यक्रममा उनले वर्षौं पहिले निर्माणका काम थालिएका योजना पटकपटक अवधि थप्दा पनि नसकिँदा नागरिकमा गलत सन्देश जाने बताए । उनले यो वा त्यो बहानामा निर्माणकार्य ढिला नगर्न मातहतका निकायलाई निर्देशन दिएका हुन् । उनले भने, “अन्धाधुन्ध काम गरेर मात्र हुँदैन, शक्तिशाली सिंहजस्तै दुई कदम अगाडि बढ्ने र एक पटक समीक्षा गर्ने नीति लिएर निर्माणकार्यमा लाग्न जरुरी छ ।”

मातहतका कर्मचारीलाई निर्देशन दिँदै मन्त्री ज्वालाले प्रत्येक चौमासिकमा योजनाको अनिवार्य समीक्षा गर्ने चलन बसाल्नुपर्नेमा जोड दिए । त्यसले आयोजनामा आएका समस्याको पहिचान र समाधानको उपाय दिने उनको भनाइ छ ।

मन्त्री ज्वालाले केही आयोजनाको कामप्रति असन्तुष्टि पनि जनाएका छन् । नेपाली सेनाले सञ्चालन गरिरहेको काठमाडौँ–तराई दु्रतमार्गको काम सोचेअनुसार नभएको उनको भनाइ छ । उनले भने, “नेपाली सेनाबाट सडक निर्माणका क्षेत्रमा प्रशंसनीय काम भइरहेका छन् तर द्रुत गतिमा हुन सकेन ।”

राष्ट्रिय गौरवका अधिकांश सडक आयोजनाको भौतिक प्रगति गत आर्थिक वर्षभन्दा बढी भएको छ । पूर्णरूपमा सन्तोषजनक नभए पनि अघिल्लो आवभन्दा यस आवको प्रगति राम्रो रहेको सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले बताए । रासस

प्रकाशित मिति : २०८० श्रावण २७ गते, शनिबार


Scroll to Top

Janata Media