दुर्घटनाको खबर पढेर रिर्पोटिङ गर्न घटनास्थल पुगेका पत्रकारले जब आफ्नै बुवाको शव देखे..

जनता संवाददाता
२०८० चैत्र २३ गते, शुक्रबार

काठमाडौँ । ‘रेडियो सेभेन स्टार’मा काम गरिरहेका पत्रकार कृष्ण विष्टले बिहानको सिफ्टमा काम गर्दै थिए । ट्याक्टर दुर्घटना भएको खबर अयो । राति ११ बजेतिर पाटन नगरपालिका– ८ झौलेक मोडबाट ट्याक्टर तल खोँचमा खस्यो । दुर्घटना राति भएकाले शुक्रबार बिहान मात्र खबर आयो ।

कृष्णले प्रहरी कार्यालयमा फोन गरेर दुर्घटनाबारे सबै विवरण लिए ।यसै क्रममा शुक्रबार बिहान उनले ट्याक्टर दुर्घटनामा परी २ जनाको मृत्यु भएको खबर पाए। तर मृतकको पहिचान खुलिसकेको थिएन। थप विवरण पछि दिनेगरी उनले दुर्घटनाको समाचार तयार पारे। पत्रिकामा पठाए अनि रेडियोमा पनि बिहान ८ बजेको बुलेटिनमा वाचन गरे।

त्यसपछि उनी दुर्घटनाको विस्तृत विवरण लिन दुर्घटनास्थल पुगे। अनि सडकमाथिबाटै दुर्घटनास्थलको तस्बिर खिचे। दुर्घटनास्थलमा भीडभाड थियो। त्यति बेलासम्म पनि कृष्णले दुर्घटनामा आफ्नै बुवा मानबहादुरको पनि मृत्यु भएको कुनै भेउ पाएनन्।

तर जब उनी सडकबाट तल झरेर शव भएकै स्थानमा गए तब उनी छाङ्गाबाट खसेजस्तै भए। किनकि त्यहाँ उनले आफ्नै बुवा लडिरहेको देखे। दुर्घटनाको रिपोर्टिङमा गएका कृष्ण बुवाको निधनले शोकमा डुबेका छन्।

बिहीबार राति बैतडीको पाटन नगरपालिका-८ झौलेकमा से २ त ३६७८ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालकसहित पत्रकार विष्टका बुवा ५२ वर्षीय मानबहादुरको पनि मृत्यु भएको हो।

दुर्घटनामा मानबहादुर विष्टसँगै ट्याक्टर चालक कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका ३० वर्षीय राजेश चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

प्रकाशित मिति : २०८० चैत्र २३ गते, शुक्रबार


Scroll to Top

Janata Media