‘विदेश गएका नेपालीलाई स्वदेश फर्कने वातावरण बनाऔँ’ : राष्ट्रपति पौडेल

जनता संवाददाता
२०८० चैत्र ३० गते, शुक्रबार

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न कारणले विदेश गएका नेपालीहरूलाई स्वदेश फर्कने अवस्थाको सिर्जना गर्नुपर्ने धारणा राखेका छन् । एसोसिएसन अफ नेपाली ओरिजिन ९एएनओ०का प्रतिनिधिमण्डलसँग शुक्रबार राष्ट्रपति कार्यालय शीतल निवासमा भएको भेटमा राष्ट्रपति पौडेलले अध्ययन, वैदेशिक रोजगारी, व्यवसायका साथै विविध कारणले बिदेसिएका नेपालीहरूलाई स्वदेश फर्कने वातावरण बन्नुपर्ने धारणा राखेका हुन् ।

यसप्रति आफूले चासो राख्ने गरेको उल्लेख गर्दै उनले आफू कार्यकारी तथा राजनीतिक भूमिकामा नभए पनि सरोकारवालालाई यस विषयमा निरन्तर सम्झाउने गरेको जानकारी पनि दिएको एएनओका महासचिव चूडामणि भट्टराईले जानकारी दिए ।

अध्ययन होस् या विभिन्न प्रयोजनले विदेश जाने गरेका नेपालीहरूले आफू रहेको देशमा आर्जन गरेको सीप र ज्ञान स्वदेशमै आइ त्यसलाई प्रयोगमा ल्याउने वातावरण बनाउन मुलुकका सम्बद्ध सबै क्षेत्र र व्यक्तिहरू लाग्नुपर्नेमा उनले जोड दिएका हुन् ।

उनले नेपाली भाषा र संस्कृतिका माध्यमबाट विश्वमा रहेका नेपाली तथा नेपालीभाषीहरुलाई एकीकृत गर्ने एएनओको अभियानको प्रशंसा गर्दै यसलाई आगामी दिनमा पनि निरन्तरता दिन सुझाए ।

त्यसअवसरमा राष्ट्रपति पौडेलले भानुभक्त आचार्यको जन्मस्थल तनहुँको चुँदीरम्घालाई नेपाली भाषाको तीर्थस्थल बनाउने अभियानमा आफू लागेको जानकारी पनि गराए । उनले विश्वका विभिन्न देशमा रहेका नेपालीभाषीहरु एक पटक यहाँ पुग्नुपर्ने धारणाको विकास गरी यसलाई जीवन्त राख्न भानु जन्मस्थललाई नेपाली भाषा र साहित्यको तीर्थस्थल बनाउनुपर्नेमा उनको जोड थियो ।

एएनओका अध्यक्ष डिल्ली अधिकारीले यस अभियानका लागि नेपाल सरकारबाट प्राप्त सहयोग र शुभेच्छाका लागि धन्यवाद व्यक्त गर्दै अभियानलाई नेपाली भाषा, कला, संस्कृतिको अभियानका रूपमा संसारमा रहेका नेपालीमाझ पुर्‍याउने अठोट व्यक्त गरे ।

यस संस्थाले प्रवासमा बस्ने नेपाली जातिका लगानीकर्ताहरूलाई नेपालमै आई लगानी गर्ने वातावरणका लागि प्रोत्साहित गर्ने पनि बताए । सो भेटमा संस्थाका उपाध्यक्ष वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त, महासचिव भट्टराई, संस्थापक सदस्यहरू केबी कार्की, ओम गुरुङ, डा. दामोदर पौडेलसहित सहभागी थिए ।

विश्वका विभिन्न देशमा बसोबास गरिरहेका नेपालीभाषीको गत चैत ६ गते थाइल्याण्डको राजधानी बैंककमा भएको भेलाले नेपाली जातिलाई एकीकृत गरी नेपाली भाषा र संस्कृतिको संरक्षण गर्न एसोसिएसन अफ नेपाली ओरिजिन (एएनओ) गठन गरेको थियो ।

विश्वका २७ देशका नेपालीमूलक सामाजिक अभियन्ताको प्रतिनिधित्व रहेको सो भेलाले भुटानमा जन्मी हाल अमेरिकामा बसोबास गर्दै आएका नेपालीमूलक समाजसेवी डिल्ली अधिकारीको अध्यक्षतामा ५४ सदस्यीय कार्यसमिति गठन गरेको थियो । रासस

प्रकाशित मिति : २०८० चैत्र ३० गते, शुक्रबार


Scroll to Top

Janata Media