एसीसी प्रिमियर कप: कतारमाथि नेपालको ३२ रनको सहज जित

जनता संवाददाता
२०८१ बैशाख १ गते, शनिबार

काठमाडौँ । अलराउन्डर दीपेन्द्रसिंह ऐरी चम्किएपछि एसीसी प्रिमियर कप क्रिकेटको दोस्रो खेलमा नेपालले कतारमाथि सानदार जित निकालेको छ । ओमानको मस्कटस्थित ओमान क्रिकेट एकेडेमी मैदानमा शनिबार भएको समूहको दोस्रो खेलमा नेपालले कतारलाई ३२ रनले हरायो । लगातार दोस्रो जितसँगै नेपालले चार अङ्क बनाएको छ ।

जितका लागि दुई सय ११ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको कतार निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ७८ रनमा समेटियो । कतारका लागि मुहमद तानवीरले ६३ रन बनाए । उनले ३३ बलमा ६ चौका र चार छक्काको सहयोगमा उक्त रन बनाएका हुन् । मोहमद अहनाफले २३, हिमान्सु् राठोडले अविजित २२, अदनान मिर्जाले १९ र ओपनर कमरन खानले १८ रन बनाए ।

बलिङमा नेपालका दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र गुलशन झाले दुई दुई विकेट लिए । कुशल मल्ल र अविनाश बोहराले एक एक विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धाीरत २० ओभरमा सात विकेटको क्षतिमा दुई सय १० रन बनाएको थियो ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले अविजित ६४ रन बनाए । अन्तिम ओभरको ६ बलमा ६ छक्का हानेका दीपेन्द्रले २१ बलमा तीन चौका र सात छक्काको सहयोगमा उक्त रन बनाएका हुन् । उनी अन्तिम ओभरको सबै बलमा छक्का हान्ने नेपालका पहिलो खेलाडी बनेका छन् । विश्वमा भने उनी टी–२० मा तेस्रो र एकदिवसीयमा अन्तिम ओभरमा ६ छक्का हान्ने पाँचौँ खेलाडी बनेका छन् ।

यस्तै आशिफ शेखले ५१ रनको अर्धसतकीय पारी खेले । उनले ४१ बलमा ६ चौकाको सहयोगमा उक्त रन बनाएका हुन् । यस्तै कुशल मल्ले ३५, कप्तान रोहितकुमार पौडेलले १८ र ओपनर कुशल भुर्तेलले १२ रन बनाए । बलिङमा कतारका हिमांसु राठोड र मुसावर शाहले तीन तीन विकेट लिए । अमिर फारक्युले एक विकेट झारे ।

प्रतियोगिताको समूह ‘ए’ मा रहेको नेपालले पहिलो खेलमा मलेसियालाई पाँच विकेटले हराएको थियो । कतार पहिलो खेलमा हङकङसँग २६ रनले पराजित भएको थियो ।

प्रकाशित मिति : २०८१ बैशाख १ गते, शनिबार


Scroll to Top

Janata Media