इन्डियन प्रिमियर लिगः गुजरातविरुद्ध दिल्लीको सानदार जित

जनता संवाददाता
२०८१ बैशाख १३ गते, बिहीबार

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल)मा साविक उपविजेता गुजरात टाइटन्सविरुद्ध दिल्ली क्यापिटल्सले चार रनको रोमाञ्चक जित निकालेको छ । बुधबार राति अरुण जेट्ली रंगशालामा दिल्लीले प्रस्तुत गरेको २२५ रनको लक्ष्य पछ्याउने क्रममा गुजरातले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर २२० रन मात्र बनाउन सक्यो ।

गुजरातलाई जितका निम्ति अन्तिम ओभरमा १९ रन आवश्यक थियो । तर, गुजरातले अन्तिम ओभरमा १४ रन मात्र बनाएपछि दिल्लीले चार रनको रोमाञ्चक जित निकालेको हो ।

गुजरातका साई सुदर्शनले ३९ बलमा सात चौका र दुई छक्कासहित ६५ रन बनाए । डेविड मिलरले २३ बलमा ६ चौका र तीन छक्कासहित ५५ रन थपे । ऋद्धिमान शाहले ३९, रसिद खानले २१ र साई किशोरले १३ रनको योगदान गरे ।

दिल्लीका रासिख सलामले तीन विकेट लिए । कुलदीप यादवले दुई विकेट लिए । एनरिक नोर्ट्जे, मुकेश कुमार र अक्षर पटेलले समान एक विकेट हात पारे ।

त्यसअघि, टस हारेर सुरुआती ब्याटिङ गरेको दिल्लीले २० ओभरमा चार विकेट गुमाएर २२४ रन बनाएको थियो । दिल्लीका कप्तान ऋषभ पन्तले अविजित सर्वाधिक ८८ रन जोडे । उनले ४३ बलमा पाँच चौका र आठ छक्का प्रहार गरे । अक्षर पटेलले ६६, ज्याक फ्रासेसले २३, ट्रिस्टन स्टुब्सले २६ रन बनाए ।

गुजरातका सन्दीप वारिअरले सर्वाधिक तीन विकेट लिए । नुर अहमेदले एक विकेट हात पारे । जितसँगै नौ खेलबाट आठ अंक जोडेको दिल्ली तालिकाको छैटौँ स्थानमा छ । समान अंकको गुजरात सातौँ स्थानमा छ ।एजेन्सी

प्रकाशित मिति : २०८१ बैशाख १३ गते, बिहीबार


Scroll to Top

Janata Media