सभामुख चयनको प्रक्रिया हेर्नुहोस्

जनता संवाददाता
२०७९ पुष २९ गते, शुक्रबार

काठमाडौँ । संसद्‌को पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुख चयन गरिसक्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार संसद् सचिवालय सभामुख र उपसभामुखको निर्वाचनको तयारीमा जुटेको छ । संसद्‌का ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले ५ माघका लागि सभामुख चयनको मिति तोकेकाले सचिवालयले निर्वाचनको तयारी थालेको हो ।

संविधानको धारा ९१ मा प्रतिनिधिसभाको सभामुख र उपसभामुख प्रतिनिधिसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र चयन गर्नुपर्ने प्रावधान छ । सोही प्रावधानअनुसार ९ माघभित्र सभामुख र उपसभामुख चयन गरिसक्नुपर्ने हुन्छ । त्यसैले संसद् सचिवालयले ३ माघमा निर्वाचनको कार्यतालिका सार्वजनिक गर्ने योजना बनाएको छ । ‘ज्येष्ठ सदस्यले ३ गते कार्यतालिका सार्वजनिक गर्न निर्देशन दिनुभएको छ,’ सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले भने ।

प्रतिनिधिसभा नियमावली २०७५ को नियम ७ मा सभामुखको निर्वाचन बैठकको अध्यक्षता गर्ने व्यक्तिले तोकेको दिनमा हुने र त्यसको सूचना महासचिव वा निजको अनुपस्थितिमा सचिवले प्रकाशन गर्ने उल्लेख छ । सोही नियमअनुसार सचिवालयले ३ गते कार्यतालिका सार्वजनिक गर्न लागेको हो ।

सचिवालयले कार्यतालिका सार्वजनिक गरेपछि संसद्‌मा प्रतिनिधित्व गर्ने कुनै दलको एक सदस्यले अर्को सदस्यलाई सभामुखमा निर्वाचित गरियोस् भनी प्रस्ताव दर्ता गर्नुपर्ने हुन्छ । उक्त प्रस्ताव दर्ता भएपछि ५ माघमा बस्ने संसद् बैठकमा प्रस्तुत गरिनेछ । प्रस्ताव गरिएको सदस्य निर्विरोध भएमा ज्येष्ठ सदस्यले निर्वाचित भएको घोषणा गर्नेछन् ।

तर, एकभन्दा बढी सदस्यले सभामुखका लागि प्रस्ताव दर्ता गरेमा ती प्रस्तावलाई दर्ता क्रमका आधारमा क्रमशः संसद्‌मा छलफलमा लगिने संसद् सचिवालयले जनाएको छ । बैठकमा प्रस्तावकले प्रस्ताव र समर्थकले समर्थन गर्नेछन् । त्यसपछि क्रमशस् संक्षिप्त छलफल हुनेछ । छलफलपछि ती प्रस्तावलाई ज्येष्ठ सदस्यले निर्णयार्थ पेस गर्नेछन् ।

‘निर्णयार्थ प्रस्तुत गर्दा दस्तखतसहितको मत विभाजनद्वारा गरिन्छ । सदस्यहरूलाई हुन्छ, हुन्न र मत दिन्नँ भन्ने लबिमा हस्ताक्षर गर्न पठाइन्छ,’ सहायक प्रवक्ता धमलाले भने । सदस्यहरूले दस्तखत गरेपछि संसद् सचिवालयका कर्मचारीले नतिजाको जानकारी ज्येष्ठ सदस्यलाई गराउनेछन् । ‘प्रतिनिधिसभामा तत्काल कायम रहेको संख्याको बहुमतबाट जुन प्रस्तावमा उल्लेखित सदस्यले बहुमत प्राप्त गर्छ, त्यो सदस्य सभामुखमा निर्वाचित भएको घोषणा ज्येष्ठ सदस्यले सभालाई गराउनुहुन्छ,’ धमलाले भने ।

सत्तारुढ गठबन्धनबाट सभामुख एमालेको भागमा परेको छ । यदि कांग्रेसले पनि सभामुखको उम्मेदवार बनाएमा मात्र मतविभाजनबाट सभामुख चयन गरिनेछ । यदि एमालेबाट मात्र उम्मेदवारी परेमा सभामुख निर्विरोध निर्वाचित हुनेछन् । शिलापत्र डटकम्बाट साभार

प्रकाशित मिति : २०७९ पुष २९ गते, शुक्रबार


Scroll to Top

Janata Media