गोठाटारमा मारिएका लाल मोहम्मद हत्यामा संलग्न आरोपी वीरगञ्जमा पक्राउ

जनता संवाददाता
२०८१ बैशाख १७ गते, सोमबार

काठमाडौँ । काठमाडौंको गोठाटारमा मारिएका लाल मोहम्मद हत्यामा संलग्न भनिएका एक आरोपीलाई प्रहरीले वीरगञ्जमा गोली प्रहार गरि पक्राउ गरेको छ । उनको साथबाट प्रहरीले लागूऔषध ब्राउन सुगर र पेस्तोल समेत बरामद गरेको छ ।

पासवान नेपाल छिरेको भन्ने सूचनाका आधारमा खोजी गरिरहेको प्रहरीसँग जम्काभेट भएपछि उनले आक्रमण गर्न खोजे पछि प्रहरीले गोली हानेको थियो । गोली हानेर उनलाई प्रहरिले नियन्त्रणमा लिएको थियो ।

आरोपी गोली लागेर घाइते भएका छन् । गोली लागेर घाइते भारतीय नागरिक बब्लु पासवान हुन् । देब्रे खुट्टामा गोली लागेका उनको नारायणी अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार, पासवान व्यवसायी सुरेश केडियाको अपहरणमा दुई वर्ष जेल बसेर छुटेका व्यक्ति हुन् ।

३ असोज २०७९ मा काठमाडौंको गोठाटारमा अज्ञात समूहको गोली लागेर मोहम्मद मारिएका थिए । उनी मारिएपछि भारतीय सञ्चारमाध्यमहरुमा मोहम्मदलाई पाकिस्तानी गुप्तचर एजेन्सी आईएसआईसँग जोडेर प्रचार गरिएको थियो ।

प्रकाशित मिति : २०८१ बैशाख १७ गते, सोमबार


Scroll to Top

Janata Media