सिधाकुरामा प्रकाशित सामग्री हटाउन सर्वोच्चको आदेश, अडियोको प्राविधिक जाँच प्रहरीले गर्ने

जनता संवाददाता
२०८१ बैशाख १७ गते, सोमबार

काठमाडौँ । सर्वोच्च अदालतले सिधाकुरा डट कमले प्रकाशन र प्रसारण गरेको ‘द डार्क फाइल’ नामक श्रृङ्खला २४ घण्टाभित्र हटाउन आदेश दिएको छ । सोमबार बसेको सर्वोच्चका न्यायाधीशद्वय डा. नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले ‘द डार्क फाइल’ श्रृङ्खलाका समाचार सामाग्री २४ घण्टाभित्र हटाउन आदेश दिएको हो ।

त्यस्तै उक्त विषयसँग सम्बन्धित अन्य कार्यक्रम र समाचार उत्पादन, प्रशारण र पुनः प्रशारण लगायत कुनै कार्य नगर्न अदातलले आदेश दिएको छ । सर्वोच्च अदालतले सिधा कुरा डटकमले १४ वैशाखमा प्रकाशित गरेको एक समाचारसँग सम्बन्धित श्रव्यदृश्य सामग्रीको प्राविधिक जाँच गराउन प्रहरीलाई आदेश दिएको छ ।

उक्त अनलाइन न्युज पोर्टलले स्टिङ अपरेशन सम्बन्धी मुद्दाको फैसला प्रभावित पार्न सर्वोच्च अदालतका न्यायाधीश र आमसञ्चार माध्यम सञ्चालकहरु नै संलग्न रहेको प्रमाण भन्दै एक अडियो युट्युबमा अपलोड गरेको थियो ।

उक्त समाचार अडियो सामग्रीले अदालतको अवहेलना भएको भन्दै सर्वोच्च अदालतका उपरजिस्ट्रार गोविन्दप्रसाद घिमिरेले पेश गरेको प्रतिवेदनमाथि सोमबार न्यायाधीश नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासमा सुनुवाइ भएको थियो ।

सुनुवाइपछि इजलासले उक्त श्रव्य दृश्य सामग्रीमा उठाइएको विषयवस्तुको सत्यतथ्य र प्राविधिक पक्षको विस्तृत अनुसन्धान हुनुपर्ने देखिएको ठहर गरेको हो ।

‘सो सम्बन्धमा आवश्यक अनुसन्धान गरी प्रचलित फौजदारी कानुनको उल्लंघन गरेको देखिएमा कानुन बमोजिम कारवाहीसमेत अगाडि बढाउनू’, सर्वोच्चको आदेशमा भनिएको छ, ‘प्रतिवेदनसहितको जानकारी १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालय मार्फत यस अदालतमा पेश गर्नु भनी प्रहरी महानिरीक्षकलाई लेखी पठाउने ।’

प्रकाशित मिति : २०८१ बैशाख १७ गते, सोमबार


Scroll to Top

Janata Media