इन्डियन प्रिमियर लिगः राजस्थान हैदराबादसँग १ रनले पराजित

जनता संवाददाता
२०८१ बैशाख २१ गते, शुक्रबार

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदराबादले शीर्ष स्थानको राजस्थान रोयल्सलाई हराएको छ ।

गए राति भएको खेलमा घरेलु टोली हैदराबादले राजस्थानलाई १ रनले हराएको हो । हैदराबादले दिएको २ सय २ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ७ विकेट गुमाएर २ सय रनमात्र बनाउन सक्यो । राजस्थानका रियान परागले सर्वाधिक ७७ रन बनाए । हैदराबादका भुवनेश्वर कुमारले ३ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ३ विकेट गुमाएर २ सय १ रन बनाएको थियो । हैदराबादका नितिश कुमार रेड्डीले ७६ रन बनाए । राजस्थानका आवेश खानले २ विकेट लिए ।

यो जितपछि हैदराबाद १० खेलमा १२ अङ्कसहित तालिकाको चौथो स्थानमा उक्लिएको छ । राजस्थान १० खेलमा १६ अङ्कसहित शीर्ष स्थानमा यथावत् छ ।

आईपीएलमा आज राति पौने ८ बजे दोस्रो स्थानमा रहेको कोलकाता नाइट राइडर्स र नवौँ स्थानमा रहेको मुम्बई इन्डियन्स खेल्दैछन् । यो खेल मुम्बईको वानखेडे स्टेडियममा हुनेछ ।

प्रकाशित मिति : २०८१ बैशाख २१ गते, शुक्रबार


Scroll to Top

Janata Media