क्रिकेटर सन्दीप लामिछाने आज थुनामुक्त हुने

जनता संवाददाता
२०७९ पुष २९ गते, शुक्रबार

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने २० लाख धरौटी बुझाएर आज थुनामुक्त हुने भएका छन् ।

उच्च अदालत पाटनले हिजो धरौटीमा लामिछानेलाई थुनामुक्त गर्न आदेश दिएको थियो भने यसअघि काठमाडौँ जिल्ला अदालतले दिएको आदेश बदर गरेको थियो ।

उच्च अदालतको आदेश काठमाडौँ जिल्ला अदालत हुँदै कारागारमा पुग्न समय लाग्ने भएका कारण आज कार्यालय समयमा कागजात पूरा गरी थुनामुक्त हुने सन्दीपककातर्फबाट बहस गरेका कानुन व्यवसायीले बताएका छन् ।

न्यायाधीश रमेश ढकाल र ध्रुवराज नन्दको इजलासले लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको उच्च अदालत पाटनका रजिस्ट्रार ठगिन्द्र कट्टेलले सीआईएनलाई जानकारी दिए ।

एक नाबालिकालाई बलात्कार गरेको अभियोगमा जिल्ला अदालत काठमाडौंले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो ।उक्त फैसलाविरुद्ध सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए ।

प्रकाशित मिति : २०७९ पुष २९ गते, शुक्रबार


Scroll to Top

Janata Media