हुम्लामा ट्याक्टर दुर्घटना हुँदा एक महिलाको मृत्यु

जनता संवाददाता
२०८१ बैशाख ३० गते, आईतवार

हुम्ला । हुम्लामा ट्याक्टर दुर्घटना हुँदा एक जना महिलाको मृत्यु भएको छ । सिमकोट गाउँपालिका वडा नं ५ मा पर्ने खार्पुदोभानबाट सिमकोट जाँदै गरेको ट्याक्टरबाट खस्दा एक महिलाको मृत्यु भएको हो ।

लु ४ त १४४९ नम्बरको ट्याक्टरबाट खस्दा सिमकोट गाउँपालिका–२ ठेहेकी ५५ वर्षिय नानी बोहराको मृत्यु भएको बताईएको छ ।

ट्याक्टरबाट खसेर गम्भीर घाइते भएर जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला अस्पतालका सिनियर अनमी सरीता बोहराले बताईन् । ‘मृतक बोहरालाई बाहिर चोट नभएपनि भित्रि शरिरमा चोट गम्भीर लागेको छ । ट्याक्टरबाट खसेको ठाउँमा ढुंगा हुन सक्ने र त्यसमा खसेर पेटमा गम्भीर चोट लागेर देखिन्थ्यो ।’ उनले जनता मिडियासँग भनिन् ।

ट्याक्टर र चालकलाई प्रहरीले अहिले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक नरेन्द्र चन्दले बताए । यसको विस्तृत विवरण भन्न नसकिने निरिक्षक चन्दले जानकारी दिए ।

प्रकाशित मिति : २०८१ बैशाख ३० गते, आईतवार


Scroll to Top

Janata Media