ददिराम बुढाथोकी, काठमाडौँ । गणतन्त्रको विकल्प गणतन्त्र नै हो । विश्वकोे उत्कृष्ट व्यवस्था गणतन्त्र हो भन्नेमा कसैको दुई मत छ जस्तो मलाई लाग्दैन । जसलाई जनताको व्यवस्था पनि भनिन्छ । तर नेपालको सन्दर्भमा राजा आउ देश बचाउ, गणतन्त्र हटाऊको नारा लागेको पछिल्लो समयमा प्रशस्तै देखिने गरेका छन् । यो नारा उत्कृष्ट व्यवस्थाको विरोधमा किन लागेको ? भन्ने प्रश्नको जवाफ कस्ले दिन्छ । व्यवस्थाको विरुद्धमा उठेका प्रश्नको जवाफ समयमै दिएर त्यसको व्यवस्थापन गर्नुपर्छ । यदि जनताले उठाएका आवाजमा लामो समय लापरवाहि गर्ने हो भने व्यवस्था नै नरहने सम्भावना सावित भएर जान्छ । पानी भएको पोखरीमा सानो प्वाल पर्नु जस्तै हो । जुन हुँदा सानो देखिन्छ तर दिन रात पोखरी खाली हुदै गइरहेको हुन्छ । गाँऊ गाँऊमा जनप्रतिनिधि हुँदा बन्न नसकेको समृद्ध नेपाल एकजना राजा आउँदैमा केहि हुँदैन भन्ने सबैलाई थाहा छ । तर पनि एक तिहाई जनताको माग राजा आउ भन्नेमा छ । यो हुनुको पछाडि राजा देश प्रति बफादार हुन्छ भन्ने विश्वास होे । जनता प्रति समर्पित छु, भन्ने नेताहरुले जनतालाई निरास बनाउदाको परिणाम राजा आउ देश बचाउ हो ।
नेताका लागी मर्न र मार्न तयार हुने जनताको भावना र चाहानालाइ बेवास्था गरेर व्यक्तिगत स्वर्थमा लागेकाले जनता आजित बनिसकेका छन् । हिजो नेता बचाउन लागी परेका जनता, आज तिनै नेताको बिरुद्धमा छन् । यो अवस्थाको सिर्जना अरु कसैले नभई यिनै नेताले गरेको कर्तुतको परिणाम हो । मुलुकमा उद्योग कलकारखाना भन्दा तिन गुणा बढि राजनितिक दल खुलेका छन् । देश संघियतामा गएपछि स्थिर सरकारको आसा गरेका जनताको सपना लगभग अधुरो बनिसकेको छ । ठुला दल र साना दलको खिचातानिमा नेताहरु भुलिरहेका छन् । जनताले मुलुकको बिकाशका लागी पठाएका प्रतिनिधि पद र शक्तिका लागी लडिरहेका छन् । हिजो कांग्रेसले भएजति सबै राजाका पालामा खुलेका उद्योग कलकारखाना बेचेर खायो । यो भन्दा राम्रो हामि बनाउछौ भन्दै तर अहिले सम्म बनाएन । त्यसैले यो पनि जनता लुट्ने दलका रुपमा प्रमाणित भइसकेको छ । एमालेको कुरै नगरौ । किनकि कम्युनिष्टले नेपाललाई भलो गथ्र्यो भने माओवादि जन्मिने थिएन । बिडम्बना माओवादि जन्मियो र नेपाली समाजको सद्भाव, भाईचारा, सहयोगको भावना, नैतिकता, धर्म, संस्कृति, सँगै कृषि कर्म प्रतिको लगाव मारीदियो । श्रम गर्नुपर्छ भन्ने भावनाको जरो मासिनुमा माओवादिको ठुलो भूमिका छ ।
नेपालको शिक्षा बुर्जुवा प्रणालीको छ, यो पढ्न हुदैन । हलो जोतेर देश बन्दैन । युवा घरमा बस्ने हैन क्रान्ति गर्न हिड्नुपर्छ । माओवादले सरकारमा ठाउँ पाएपछि रोजगार, हक अधिकार, आर्थिक समृद्धि, शिक्षा, स्वस्थ्य लगायत सबै कुराको राम्रो व्यवस्था हामी गछाँै भन्ने माओवादिले पनि जनतालाई आश्वासन मात्र दिएको छ भन्ने कुरा प्रमाणित भईसकेको छ । किनकि नेपाललाई १० वर्षमा स्विजरल्याण्ड बनाउँछौ भनेको पनि १६ बर्ष बितिसकेको छ । माओवादिले काम गर्र्न सक्दैन भन्ने कुुराको अर्को प्रमाण कोशी प्रदेशको विवाद नसुल्झाउनु हो । यस्ता विविध घटना क्रमले दल प्रतिको विश्वास हराउँदै गएको छ । त्यसैले राजा भए केहि हुन्थ्यो की।। भन्ने आशा पलाउनु स्वभाविकै हो । जता फर्कियो त्यतै भ्रष्ट्राचार र अनियमितताको गन्ध सुघ्न नसकेर पनि जनताले राजाको अभाव महशुस गरेका हुन सक्छन् ।
धेरैलाई राजाको नाम लिन मन नहँुदा नहुदै बाध्यताले लिइरहेका छन् । कतिलाइ त यिनै दलहरुले जनताको समस्यालाई सम्बोधन गरी देश विकास गर्छन् भन्ने कुरामा विश्वास लाग्न छाडेकाले राजा भए हुन्थ्यो भन्न थालेका छन् । युवा पुस्ताको कुरै नगरौ, उनीहरुलाई नेताप्रति यति रिस उठेको छकि, शब्दमा व्यक्त गर्न सक्दैनन् । तर स्वतन्त्रको उदय पछि भने केहि आशा जगाउन थालेका छन् । युवा राजनितिमा आए भने केहि गर्छन् भन्ने कुरालाई मनन गर्न थालेका छन् । त्यहि पनि रवि लामिछानेको विवादित छवि र हर्क राज राईको कतिपय अभिव्यक्तिका कारण पूर्ण विश्वास गर्ने वातावरण छैन । राजाको सिधा सम्बन्ध देशको माटो सँग हुन्छ र नेताको सम्बन्ध व्यक्ति र परिवार सँग हुन्छ, भन्ने कुराको प्रमाण नेताका गतिविधिले दिइसकेको छ ।
विश्वको अरु देश भन्दा मेरो देश माथि हुनुपर्छ भन्ने सोच राजामा हुन्छ । तर अरु नेता भन्दा म धनि हुनु पर्छ भन्ने सोच नेपालका नेतामा पाइयो । त्यसैले नेपालका तमाम् युवा पुस्ता खाडिमा जानु पर्ने अवस्था छ । व्यक्तिवादि सोच भएका नेताको हातमा देश पुगेकाले आज परिवार पाल्नका लागी पनि देशमा अवसर छैन । यि र यस्तै गतिविधिले मुलुकमा राजाको आवश्यकताको महशुुस भएको हुन सक्छ । राजाले जनतालाई आवाहन गरेर सडकमा निस्क्रिय भने गणतन्त्र इतिहास बन्ने कुरामा कुनै दुई मत छैन । यो कुरा जानतालाइ भन्दा राजनितिज्ञलाई अझ बढि स्पष्ट थाहा छ ।







