सुनसरी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक क्षणिक स्वार्थ र लाभका लागि गर्नु नहुने बताएका छन्। बिहीबार सुनसरीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीति देश, जनता र सत्य स्थापनाका लागि हुनुपर्ने बताए।
उनले नेपाली कांग्रेसले संसद्मा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगीको आरोप लगाउँदै संसद् अवरुद्ध गरिरहेको र एउटा पात्रकाविरुद्ध खनिएको भन्दै आपत्ति जनाए। कांग्रेस जस्तो पार्टी रवि लामिछानेको विरुद्धमा खनिनु भनेको भँगेरा मार्न तोप बोकेर जानु सरह भएको उनको टिप्पणी थियो।
उनले भने ‘कांग्रेस जस्तो पार्टी रवि लामिछानेका विरुद्ध खनिएको छ। के खनिनु। भँगेरा मार्न जाने तोप बोकेर। बल्लबल्ल राजनीतिमा आएको, एक वर्ष भयो। खैर अहिलेको उपप्रधानमन्त्री हुनुहुन्छ उहाँ, म सम्मान गर्दछु उहाँलाई उपप्रधानमन्त्रीको हैसियतले। तर नेपाली कांग्रेसले दुई तिरबाट अघ्र्यलाईं गरेको छ। एउटा बेलुका गएर तपाईं डेढ वर्ष प्रधानमन्त्री पहिलो प्रधानमन्त्री तपाईं खानुस् भन्ने। उसले त्यो कागजमा सही नगरेपछि भोलिपल्ट सहकारीको ठग भन्ने। यो त सत्य हो नि त। यस्तो गर्नु हुँदैन। रातिसम्म प्रधानमन्त्रीका लागि ठिक, म यता लाग्न सक्दिन भनेपछि त्यसो भए तँ सहकारीको ठग। अलि मिलेन।’
अध्यक्ष ओलीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई नागरिकताको विषयमा छानबिन गर्न पक्राउ गरिएको बताए।
उनले सिरोहिया पक्राउ पर्दा कसरी प्रेस स्वतन्त्रतामाथिको हमला भयो ? भन्दै प्रश्न समेत गरे। नागरिकताको कुरालाई प्रेस स्वतन्त्रतामाथिको हमलाका रुपमा बुझ्न नहुने उनको भनाइ थियो।
‘अदालतले आदेश गरेपछि प्रहरीले समात्यो । यो प्रेस स्वतन्त्रतामाथिको हमला रे। प्रेस कहाँबाट जोडियो। नागरिकताको पो कुरा होला त, प्रेस कहाँबाट आयो। यो खालका हल्लाका पछि लाग्दैन। डेमोक्रेसी खतरा भयो। वक्तव्यको होडबाजी भयो।’ उनले भने।
अध्यक्ष ओलीले सांसद डा। सुनिल शर्मा र कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ पर्दा चुइँक्क नबोलेको भन्दै अहिले आएर रवैया देखाउनु अशोभनीय रहेको बताए। न्यायको अगाडि सबै बराबर रहेको उनको भनाइ थियो।







