भन्सार नाकामा फेला परेको कुहिएको बहत्तर बोरा राज्मा नष्ट

जनता संवाददाता
२०८१ जेष्ठ १३ गते, आईतवार

काठमाडौँ । भारतबाट नेपाल भित्रिरहेको गुणतस्तरहीन राज्माको गेडा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले फेला पारेको छ । बाँकेको नेपालगन्ज नाकाबाट नेपाल ल्याइरहेको राज्माको सो गेडा विभाग अन्तर्गतको खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयले चेक जाँच गर्दा त्यस्तो फेला परेको हो । अमन जेनरल अर्डर सप्लायर्सले नेपालगन्ज नाकाबाट राज्माको गेडासहित राज्मा, रहर, उरद, मसुरो दाल पनि आयात गरिरहेको थियो । त्यसमध्ये ७२ बोरा राज्मा कुहिएको फेला परेका छन् ।

नेपालगन्ज भन्सार कार्यालयले खाद्य आयातनिर्यात गुणस्तर प्रमाणीकरण कार्यालयलाई चेक जाँचका लागि पठाएपछि त्यसलाई परीक्षण गर्दा ढुसी परेको, कुहिएको र अस्वाभाविक गन्ध भएको फेला परेको विभागका महानिर्देशक ड.। मतिना जोशी वैद्यले बताए । फेला परेको सो राज्मालाई नष्ट गरिएको उनले जानकारी दिए ।

परीक्षण गर्दा राज्मामा ढुसी परेको, कुहिएको फेला पारिएको बताउँदै सो राज्माको प्रयोग गर्दा स्वास्थ्यमा गम्भीर असर पर्ने सक्ने हुँदा आयात गर्न उपयुक्त नदेखिएका कारण त्यसलाई नष्ट गर्न भनिएको बताए ।

त्यसरी कुहिएका ७२ वटा बोरा अर्थात् दुई हजार १६० रहेका छन् । राज्माको राम्रो बोरासँगै यो बिग्रिएको राज्माको बोरा पनि मिसाइएको थियो । भन्सार पास भएर गएको भए ती बिग्रिएको राज्मा राम्रो राज्मामा मिसाएर बिक्रीवितरण गर्न सक्ने विभागले आशङ्का गरेको छ ।

विभागका महानिर्देशक जोशीले सो सप्लायर्स कम्पनीले ल्याएको विभिन्न खाद्यान्नमा राज्माको गेडा पूरै कुहिएको र अस्वाभाविक रूपमा गन्हाइरहेको थियो, त्यो केही गरेर पास भएको भए अरू राज्मामा मिसाएर बजारमा पठाउन सकिने आशङ्का आफूहरूलाई लागेको बताए ।

नेपालगन्ज भन्सार कार्यालयका प्रमुख ध्रुव विकले ७२ बोरा राज्मा नष्ट गरिएको बताए । खाद्य आयातनिर्यात गुणस्तर प्रमाणीकरण कार्यालयले दिएको रिपोर्टका आधारमा सो नष्ट गरिएको उनले बताए । सो कार्यालय यसअघि खानयोग्य नभएको रिपोर्ट दिँदा त्यसलाई फिर्ता पठाइदिन्थ्यौँ तर यस पटक नष्ट नै गर्ने रिपोर्ट पठाएपछि त्यसलाई खाल्डोमा पुरेको उनले जानकारी दिए ।

 

प्रकाशित मिति : २०८१ जेष्ठ १३ गते, आईतवार


Scroll to Top

Janata Media