अभ्यास खेलमा क्यानडासँग नेपालको फराकिलो हार

जनता संवाददाता
२०८१ जेष्ठ १५ गते, मंगलवार

काठमाडौँ । आईसीसी टी–२० विश्वकपको वार्मअप अन्तर्गत पहिलो खेलमा नेपाल क्यानाडासँग ६३ रनको फराकिलो अन्तरले पराजित भएको हो।

अमेरिकाको डलासस्थित ग्रान्ड प्रेरी क्रिकेट मैदानमा भएको खेलमा क्यानाडाले दिएको १ सय ८४ रनको बलियो लक्ष्य पछ्याएको नेपाल १९ दशमलव ३ ओभरमा १ सय २० रनमा समेटियो।

नेपालको शीर्षक्रमका ब्याटरले केही राम्रो सुरुवात पाए पनि ठूलो स्कोर भने बनाउन सकेनन्। कुशल मल्लले ३० बलमा २ चौका र २ छक्का प्रहार गर्दै सर्वाधिक ३७ रन जोडे। अनिल साहले १६ बलमा २४ रन बनाए। ओपनरद्वय आशिफ शेखले २२ र कुशल भुर्तेलले १० रन जोडे। अन्य कुनै ब्याटरले दोहोरो अंक छुन सकेनन्। सन्दिप जोराले ६ रन बनाउँदा करन केसी र सागर ढकालले समान ५ रन बनाए। सोमपाल कामीले ४ रन बनाए । कप्तान रोहित पौडेल १ रनमा आउट भए। गुलशन झा र अविनाश बोहोरा शून्यमा पेभेलियन फर्किए।​

क्यानाडाका लागि डिलन हेलिगरले ४ विकेट लिए। जेरेमी गोर्डन र साद विन जफरले २/२ विकेट लिए। कलिम सना र पर्गत सिंहको नाममा १र१ विकेट रह्यो।

त्यस टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८३ रन बनाएको थियो। क्यानडाका निकोलस किर्टोनले ३९ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ५२ रन बनाए।

रविन्द्रपाल सिंहले अन्त्यमा १७ बलमा १ चौका र ४ छक्कासहित ४१ रनको आक्रामक अविजित इनिङ खेले। डिलोन हेलिगर ७ बलमा २ चौकासहित १३ रन नट आउट रहे।

नेपालका तीव्र गतिका बलर अभिनाश बोहराले ३ ओभरमा २७ रन खर्चेर २ विकेट लिए। करण केसी, सोमपाल कामी, गुलशन झा, ललित राजवंशीले १/१ विकेट लिए।

नेपालले दोस्रो वार्मअप खेल यसै मैदानमा बिहीबार घरेलु टोली अमेरिकासँग खेल्नेछ।

प्रकाशित मिति : २०८१ जेष्ठ १५ गते, मंगलवार


Scroll to Top

Janata Media