काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई काठमाडौँ ल्याइएको छ। स्वास्थ्य अवस्था खस्किँदै गएपछि उनलाई मंगलबार दिउँसो धनुषाबाट सिम्रिक एयरको हेलिकोप्टरबाट ललितपुरको मेडिसिटी अस्पताल ल्याइएको हो। उनलाई हेलिकोप्टरबाट सिधै अस्पताल पुर्याइएको हो। सिरोहिया जेठ ८ देखि प्रहरी नियन्त्रणमा छन्।
उनलाई पक्राउ गर्दा प्रहरीले काठमाडौँबाट जनकपुरसम्म गाडीमै लगेको थियो। मंगलबार सिधै उनलाई हवाइमार्गबाट मेडिसिटी लगिएको धनुषा प्रहरीका प्रवक्ता डीएसपी रञ्जन अवाले वर्णन मिडियालाई जानकारी दिए। सिरोहिया विगत ५ दिनदेखि अस्पतालमा छन्। धनुषा जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहँदा बिरामी परेपछि उनी जेठ ११ गते जनकपुरस्थित काव्या अस्पतालमा भर्ना भएका हुन्।
उच्च रक्तचाप, मुटुको चालमा उतारचढाव र टाउको दुखाइ बढेपछि गत शुक्रबार साँझ सुरुमा जनकपुर प्रादेशिक अस्पताल लगिएका उनलाई थप उपचारका लागि जनकपुरमै रहेको काव्या अस्पताल भर्ना गरिएको थियो। परिवारका अनुसार सिरोहियालाई पहिलेदेखि नै मधुमेह, उच्च रक्तचापलगायत स्वास्थ्य समस्या थिए।
उनलाई थप ३ दिन हिरासतमा राख्न प्रहरीले तेस्रोपटक सोमबार जिल्ला अदालतबाट अनुमति पाएको छ।







