आयरल्यान्डमाथि भारतको सहज जित

जनता संवाददाता
२०८१ जेष्ठ २४ गते, बिहीबार

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपमा भारतले आयरल्यान्डमाथि आठ विकेटको सहज जित निकालेको छ । बुधबार न्यूयोर्कमा ९७ रनको लक्ष्य पाएको भारतले १२.२ ओभरमा दुई विकेट गुमाएर पूरा गर्‍यो ।

भारतका लागि कप्तान रोहित शर्माले सर्वाधिक ५२ रन बनाए । यसैगरी, रिशव पन्तले ३६ रन बनाउँदा सूर्यकुमार यादवले दुई र विराट कोहलीले एक रन बनाए ।

बलिङतर्फ आयरल्यान्डका मार्क आडैर र बेन ह्वाइटले एक–एक विकेट लिए ।

त्यसअघि टस हारेर सुरुमा ब्याटिङ गरेको आयरल्यान्डले १६ ओभरमा सबै विकेट गुमाएर ९६ रनमात्र बनाएको थियो । भारतीय बलरसामु निरीह देखिएका आयरल्यान्डका कुनै पनि ब्याटरको प्रदर्शन उल्लेख्य बन्न सकेन । आयरल्यान्डका ग्यारेथ डेलानीले २६ रन बनाए । जस लिटिलले १४, कर्टिस क्याम्फेरले १२ र लोर्कान टकरले १० रन थपे ।

आयरल्यान्डलाई सस्तैमा समेट्न हार्दिक पन्ड्याले तीन विकेट लिए । चार ओभर बलिङ गरेका पन्ड्याले एक मेडन फ्याक्दै २७ रन खर्चिए ।

अर्शदीप सिंह र जसप्रित बुमराहले समान दुई विकेट लिए । मोहम्मद सिराज र अक्षर पटेलको नाममा समान एक विकेट रह्यो ।

प्रतियोगिताको समूह ुएुमा रहेका दुवै टिमको यो पहिलो खेल हो ।

प्रकाशित मिति : २०८१ जेष्ठ २४ गते, बिहीबार


Scroll to Top

Janata Media