
सर्जन कुमार शाही, मुगु । कर्णाली प्रदेशको बिकट हिमाली जिल्ला मुगुको झ्यारी खोलामा रहेको पानीको स्रोत सुक्दै गएपछि गमगढी बजारमा लामो समय देखि खानेपानीको समस्या भएको छ ।
सुख्खा, मौसम र वर्षा नभएका कारण जिल्ला भर पानीका श्रोतहरू घट्दै गएपछि गमगढी बजारमा खानेपानीको हाहाकार भएको हो । मुगु ०५६ सालमा गमगढी बजारमा रहेका ९० घरलाई लक्ष्य गरी वितरण गरिएको खानेपानी दुई दशक भन्दा बढी समय बिती सक्दा सम्म ४ सय भन्दा बढी धुरीमा खानेपानीका धारा जडान गरिएको छ समयअनुकुल सुधार हुन सकेको छैन बढ्दो जनसख्या, बजारीकरण सँगै खानेपानी वितरणमा समयानुकूल सुधार, मर्मत र थप विकासका कार्य नगरिँदा यत्तिखेर गमगढी बजार काकाकुल हुन बाध्य छ।
माग बराबरको खानेपानी उपलब्ध नहुँदा अहिले यहाँका खानेपानी उपभोक्ता संस्थाले लोडसेडिङ गरेर बजारवासीलाई खानेपानी वितरण गरिरहेका छन्। तत्कालीन समयमा गमगढी बजारमा २०० घर जति थिए। त्यो बेला यहाँका ९० घरधुरीलाई लक्षित गरि खानेपानीको व्यवस्था गरिएको थियो। अहिले गमगढी बजारमा घर बढेर ७०० भन्दा बढी पुगिसकेका छन्। जनसङ्ख्या व्यापक बढेपनि वितरण गरिएको उही पुरानो खानेपानीमा कुनै पानीको स्रोत थप गरिएको छैन।
खानेपानी कार्यालयबाट पटक पटक पाइपलाइन मर्मत र रिवर्ज ट्याङ्की बनाई दिएकाले मुहानबाट आएको पानी जम्मा गरेर बजारलाई दुई भागमा विभाजन गरि बिहान एक भागलाई र बेलुका १ भागलाई दिनमा १ घण्टा पानी दिँदै आइएको गमगढी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष गोर्ख बहादुर मल्ल बताउँछन्।
‘पानीको स्रोत कम छ, दिनभर र रात भर १०० घन मिटरका २ वटा ट्याङ्कीमा जति पानी जम्मा भयो बजारमा त्यति पानी पठाउने हो’, अध्यक्ष मल्लले बताए। देश सङ्घीयतामा नजाँदै जिल्लामा रहेको खानेपानी कार्यालयले मर्मत सम्भार गरिदिने, आवश्यक पाइपहरू उपलब्ध गरि दिने जस्ता काम गरिदिँदा खानेपानी वितरण र उपलब्धता नियमित थियो तर अहिले २०७४ यता बजार बासीलाई खानेपानी नियमित गर्न कठिनाइ भएको उनले बताए।
बढ्दो जनसङ्ख्या र बजारीकरणले गर्दा हाल वितरित खानेपानीको क्षमताले बजार धान्दैन। मुहानदेखि मुखसम्म रहेका खानेपानीका पुराना सबै संरचना विस्थापन गरि कम्तीमा हजार घरधुरीलाई पुग्ने संरचना बनाइदिन सङ्घीय, प्रदेश र स्थानीय सरकारहरूसँग निर्णयसहित समितिले पटक पटक आग्रह गरेपनि कुनै निकायबाट सुनुवाई नभएको समितिका अध्यक्ष मल्लले गुनासो गर्नुभयो। ‘लोडसेडिङ गरेर जसोतसो समितिले ४ सय ३० सम्म घर तथा कार्यालयहरूलाई दैनिक १ घण्टा पानी दिँदै आएका छौ। मासिक शुल्क २ सय दिनुहुन्छ। सबैको घरमा पानी जाँदैन कार्यरत कर्मचारीलाई तलब दिन पनि धौ धौ पर्छ’, समितिका अध्यक्ष गोर्खबहादुर मल्लले बताए। उनले समितिको अन्य आय स्रोत नहुँदा मर्मत सम्भार गर्न पनि आर्थिक अभाव हुने गरेको मल्लको भनाई छ। हाल सम्म यस गमगढी खानेपानीका लागि स्थानिय सरकार प्रदेश सरकारका साथै संघिय सरकारले समेत खानेपानी बिस्तारका लागि कुनै चासो नदिएको समेत अध्यक्ष मल्लले जाननकारी दिए।
खानेपानीको मुहान सदरमुकाम गमगढीबाट १५ किलोमिटर टाढा रारा राष्ट्रिय निकुञ्ज अन्तरगत मध्यवर्ती क्षेत्र रहेको झ्यारी खोलामा पानीको श्रोत भएकोले कहिले पहिरो, कहिले जिल्लामा बन्ने सडक, सिचाई त कहिले बाढीले पाइपलाइन सहित अन्य संरचना बगाई तथा भत्काई दिँदा हप्ता दिनसम्म पनि बजारवासीलाई पानी वितरण गर्न सकस हुने गरेको अध्यक्ष मल्ल स्विकार्छन। ‘पाइपको साइज मुहानदेखि बजारको जम्मा ट्याङ्कीसम्म एउटै हुनु पर्ने हो समितिको आर्थिक अवस्था कमजोर भएका कारण कतै पाइप चुँडियो, कतै बगायो भने जति साइजको पाइयो त्यही साइज जडान गरी खानेपानी नियमित गर्ने गरेका छौँ यही कारणले पनि एकै साइजको पाइपमा पानी आउन पाउँदैन र बजारमा पानीको अभाव भइरहन्छ।’ उनले बताए।
बजारवासीले पर्याप्त तथा शुद्ध खानेपानी नपाउँदा दैनिकजसो आक्रोश बढ्दै जानु स्वभाविक भएको उनले बताए। ‘खानेपानीको उपभोक्ताहरू पनि आफूहरूले नियमित शुल्क तिरेको कारण शुद्ध र पर्याप्त पानी प्रयोग गर्न पाउनु आफ्नो अधिकार हो। के पुगेन ? के बनाउनु पर्छ ? कहाँ समन्वय गर्ने ? कहाँबाट योजना ल्याउने ? समितिका पदाधिकारी लाग्नु पर्यो भन्दै आवाज उठाइरहनु हुन्छ, हाम्रो बाध्यता आफ्नै छ’, उनले बताए।
गमगढी बजारमा माथिल्लो बजार, शीतल बजार, माथिल्लो न्युरोड, बागबजारका घरहरूमा समितिले दैनिक १ घण्टा पानी दिए पनि पर्याप्त नभएपनि खानेपानी पुगे कै छ तर तल्लो बजार, तल्लो न्युरोड, कृष्णचोक देखि तलका घरहरूमा भने एक घण्टा पनि पानी नआउने गरेको स्थानीयहरू बताउँछन्। मासिक शुल्क तिर्दासमेत पानी नपाउनु र औँसी पूर्णिमा जस्तै गरि आउने पानीको कारण वितरण गरिएको पानी खान पाइएला भनेर आश नै मरेको उनीहरू बताउँछन्। घरका धारामा पानी नआएपछि ३० मिनेट टाढा रहेको हुलुम खोला र चैन खोलामा रहेका धाराहरूबाट खानेपानी ल्याएर यहाँका स्थानीयहरू पानी तिर्खा मेट्दै आएको उनीहरू बताउँछन्। ‘समितिले खानेपानी छोडेमा माथि माथिका घर मै सकिन्छ तलका घरहरूको हावा मात्र आउँछ, खानेपानीको लागि चैन खोलामा जानु बाहेक अरु विकल्प छैन’ स्थानीय रोश जैसी र ताराचन्द्र चौलागाईंले दुखेसो पोखे।
अर्का न्युरोडका व्यवसायी जुनतारा खडका भन्छिन् आफ्नो पाइप लाइनमा कहिले पनि पानी आउदैन १ घण्टा हिडेर चैन खोला जानू पर्ने बाध्य भएको गुनासो गरिन । तल्लो बजारका अर्का स्थानीय ददिराम कुमाई भन्छन् आफुहरु ले खाली खाने पानीको शुल्क मात्र तिर्ने तर कहिले पनि तल्लो बजारमा पानी नगुग्ने बताए ।
यसको बिसयमा छाँयानाथ रारा नगरपालिकामा सोधपुछ गर्दा नगर उपप्रमुख ऐश्वर्य मल्ल भन्छिन् आफुले खानेपानीको विषयमा २ वर्ष देखि आवाज उठाउदै आएको आफुले भनेको कुरा कसैले सुनुवाइ गर्ने न त आफै जानेर गर्ने र यसमा खानेपानी उपभोक्ता समितीनै बजेट माग्ने कुरामा निष्क्रिय भएको बताइन् ।
सोरु गाउँपालिका १, २, ३ र ६ नम्बर वडाका १८ बस्तीमा गाउँघर नजिकका मूल सुकेका र सरकारी संयन्त्रबाट दीर्घकालीन पानीका योजनाहरू प्राथमिकतामा नपरेपछि लामो समयदेखि खानेपानीको हाहाकार भोग्नु परेको हो।सोरु गाउँपालिकाभित्र ११ वटा वडा छन्। सबैभन्दा बढी १, २, ३ र ६ नम्बर वडाका १८ बस्तीका १ हजार ३ सय ७९ घरधुरीले खानेपानीको समस्या भोग्दै आएका छन् । सोरुका स्थानीय पदम मल्ल भन्छन् जब चैत्र सुरु हुन्छ लामो बर्षा नभए सम्म यी बस्तीहरु जहिले पानीको अभाव हुन्छ भनी गुनासो पोखे ।