कालिकोट । ५ जनाको सिट क्षमता भएको जिपमा १५ जनाभन्दा बढी यात्रुलाई चढाउने गरेको पाईएको छ । कालिकोटको लालीघाटबाट बाजुराको पिलुचौरसम्म यात्रा गर्दा यस्तो पाईएको हो ।
उक्त रुटमा मानसरोवर यातायात प्रा.लि.का अध्यक्ष हस्त बमको क १ ज ५६ नम्बरको जिपमा सिट क्षमताभन्दा धेरै यात्रु हालेको पाईएको हो । कर्णाली करिडोर अन्तर्गत रहेको यस सडक खण्डमा यसरी धेरै यात्रु हालेको जनता मिडियाको टिमले देख्ने बित्तिकै जिल्ला प्रशासन कार्यालय कालिकोटका प्रमुख जिल्ला अधिकारी गणेश नेपालीलाई जानकारी गरायो ।
त्यस लगत्तै प्रमुख जिल्ला अधिकारी नेपालीले उक्त रुटमा कार्यरत टाफिक प्रहरीलाई क १ ज ५६ नम्बरको जिपलाई आवश्यक कारबाहीमा लिई नियन्त्रणमा लिन निर्देशन दिए । त्यसपछि त्यो रुटमा रहेको एकमात्र टाफिक प्रहरी बिट सान्नीघाटले एक हजार जरिवाना गरएर उक्त जिपलाई पास गरायो ।
चेकिङ्मा त्यतिबेला ६ जना मात्रै यात्रु सवार थिए । अन्य ९ जनालाई जिप चालकले चोर बाटोबाट छिराईसकेका थिए ।
सोही समयमा सान्नीघाट बिटमा खटिएका टाफिक प्रहरी पूर्ण बहादुर विकले प्रमुख जिल्ला अधिकारीले निर्देशन दिएपछि आफुहरु एकदमै तैनाथ भएर लागेको बताए । ‘हामी आवश्यक कारबाही गर्न लागेका थियौँ तर सिट क्षमताभन्दा १ जना मात्रै बढी थिए । त्यहि आधारमा १ हजार रुपिया जरिवाना गराँए । अन्य यात्रुलाई चोर बाटोबाट छिराईसकेको रहेछ । त्यसपछि कारबाही गर्ने अवस्था भएन ।’ उनले जनता मिडियासँग भने ।

उक्त जिप अरु कोही नभएर यातायात सञ्चालक समिति अर्थात् मानसरोवर यातायात प्रा.लि.का अध्यक्ष हस्त बमको जिप हो । उनी कालिकोटमा राजनितिक पहुँच भएका व्यक्ति हुन् ।
यसरी अध्यक्षकै जिप नियम विपरित सिट क्षमताभन्दा धेरै यात्रु बोक्ने र सिडियो निर्देशनलाई समेत अटेरी गर्ने जिप चालक र जिपका साहु हस्त बमलाई आवश्यक कारबाही गरी जिपलाई नियन्त्रणमा लिनुपर्ने देखिन्छ ।







