
काठमाडौँ । टी–२० विश्वकप क्रिकेट अन्तर्गत आज (बुधबार) भारत र अमेरिकाबिच समूह चरणको खेल हुँदैछ ।यो खेलमा अमेरिकाबाट खेल्ने दुई खेलाडी यस्ता छन्, जो यसअघि भारतका लागि यू–१९ विश्वकप क्रिकेट खेलिसकेका छन् । भारतको १९ वर्ष मुनि उमेर समूहको टिममा समावेश रहेका उनीहरू पछिल्लो समय अमेरिका बस्न थालेसँगै अमेरिकाको टिमबाट विश्वकप क्रिकेट खेलिरहेका छन् ।सौरभ नेत्रवलकर सन् २०१० मा भारतको यू–१९ विश्वकप क्रिकेट टोलीमा सामेल थिए । उनले सन् २०१३ मा मुम्बईका लागि रणजी ट्रफीमा डेब्यू गरेका थिए । उनी सन् २०१५ मा अमेरिका गए । त्यसपछि उनले अमेरिकामै क्रिकेट करिअर अघि बढाउँदै अहिले अमेरिकाकै लागि विश्वकप खेलिरहेका छन् ।यस्तै अमेरिकी टोलीमा रहेका अर्का खेलाडी हरमीत सिंह पनि भारतका लागि यू–१९ विश्वकप क्रिकेट खेलिसकेका खेलाडी हुन् । उनले सन् २०१० र २०१२ मा भारतका लागि यू–१९ विश्वकप क्रिकेट खेले । भारतीय टिममा रहेका अक्षर पटेल, कुलदीप यादव उनका समकक्षी हुन् ।
हरमीतले पनि भारतमा रणजी ट्रफी खेलेका छन् । आफूले रणजी ट्रफीमा डेब्यू गर्दा भारतका वर्तमान कप्तान रोहित शर्मा पनि उक्त टिमको सदस्य रहेको बताउँदै उनले भारतविरुद्धको विश्वकपमा आफूले रोहितलाई चाँडै आउट गर्न प्रयास गर्ने बताए ।
त्यसो त अमेरिकी टिममा रहेका अन्य केही सदस्य पनि भारतीय मूलकै छन् । अमेरिकी टोलीका कप्तान मोनाङ्क पटेल ९गुजरात०, मिलिन्द कुमार ९दिल्ली० र निसर्ग पटेल ९गुजरात० पनि भारतीय मूलका खेलाडी हुन् । भारतविरुद्ध मैदानमा उत्रिनु आफूहरूका लागि भावुक पल हुने भारतीय मूलका अमेरिकी खेलाडी बताउँछन् ।
हरमीतले भने, ‘म भारतीय फ्याक्टरका बारेमा धेरै कम कुरा गर्न चाहन्छु । भारत विश्वकै सर्वश्रेष्ठ टिममध्ये एक हो । तर यो टी–२० क्रिकेट हो र यस्तो विकेटमा जे पनि हुन सक्छ ।’
नेत्रवलकर भने खेल सुरु हुनु अघि आफूले दुवै देशको राष्ट्रगान गाउने बताउँछन् । उनले भने, ‘भारत मेरो जन्मभूमि हो, अमेरिका मेरो कर्मभूमि हो । म दुवै देशको सम्मान गर्न चाहन्छु । यो मेरालागि फरक अनुभव हुनेछ ।’