काठमाडौँ विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विवेक बराल नियुक्त

जनता संवाददाता
२०८३ श्रावण २९ गते, शुक्रबार

काठमाडौँ । काठमाडौँ विश्वविद्यालय (केयू) को उपकुलपति पदमा प्रा.डा. विवेक बराल नियुक्त भएका छन्।

प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले उपकुलपति छनोट तथा सिफारिस समितिको सिफारिसका आधारमा बराललाई नियुक्त गरेका हुन् । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नवनियुक्त उपकुलपति बराललाई शुक्रबार मन्त्रालयमा नियुक्तिपत्र प्रदान गरेका छन् ।

गत जेठ १९ गते बसेको काठमाडौँ विश्वविद्यालयको सिनेट बैठकले नयाँ उपकुलपति नियुक्तिका लागि शिक्षामन्त्री पोखरेलको संयोजकत्वमा सिफारिस समिति गठन गरेको थियो।

समितिको सदस्यमा राष्ट्रिय योजना आयोगका सदस्य रेशु अर्याल ढुङ्गाना र विश्वविद्यालयका संस्थापक उपकुलपति एवं संरक्षण समितिका अध्यक्ष सुरेशराज शर्मा रहेका थिए। सोही समितिले सिफारिस गरेका तीन जनाको नाममध्येबाट प्रधानमन्त्री शाहले बराललाई उपकुलपतिमा मनोनयन गरेका हुन् ।

बराल काठमाडौँ विश्वविद्यालयको मेकानिकल इन्जिनियरिङ विभागका प्राध्यापक हुन् । उनि केयूमा अध्ययन गरी सोही विश्वविद्यालयको उपकुलपति बन्ने पहिलो व्यक्ति हुन् । उनि विश्वविद्यालयको इन्जिनियरिङतर्फ दोस्रो ब्याचका विद्यार्थी थिए ।

उनले काठमाडौँ विश्वविद्यालयबाट मेकानिकल इन्जिनियरिङमा स्नातक, जापानको टोकियो विश्वविद्यालयबाट स्नातकोत्तर र न्युजिल्यान्डको अकल्यान्ड विश्वविद्यालयबाट विद्यावारिधि (पीएचडी) गरेका छन् । बरालको विशेषज्ञता इन्धन तथा ऊर्जा, दहन विज्ञान तथा वातावरणीय प्रदूषण, थर्मोफ्लुइड इन्जिनियरिङ र कम्प्युटेसनल फ्लुइड डाइनामिक्समा रहेको छ।

प्रकाशित मिति : २०८३ श्रावण २९ गते, शुक्रबार


Scroll to Top

Janata Media