नेदरल्यान्ड्सविरुद्ध बंगालदेश २५ रनले विजयी

जनता संवाददाता
२०८१ जेष्ठ ३२ गते, शुक्रबार

काठमाडौं । आईसीसी टी–२० विश्वकपमा दोस्रो जित निकाल्ने क्रममा बंगलादेश नेदरल्यान्ड्सविरुद्ध २५ रनको जित निकालेको छ ।

बिहीबार किंग्सटाउनमा भएको खेलमा बंगलादेशले प्रस्तुत गरेको १६० रनको लक्ष्य पछ्याउने क्रममा डच टिमले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १३४ रनमात्र बनाएको हो ।डच टिमका साइब्रान्ड एंगलब्रेटले ३३ रन बनाए । विक्रमजित सिंहले २६, कप्तान स्कट एड्वार्ड्सले २५, माइकल लेभिटले १८, आर्यन दत्तले १५ र म्याक ओ‘डोडले १२ रन थपे ।

बंगलादेशका रिसाद हुसैनले तीन विकेट लिए । तक्षिन अहमेदले दुई विकेट लिँदा मुस्ताफिजुर रहमान, तान्जिन हसन सान्टो र महमुदुल्लाहले समान एक विकेट हात पारे ।त्यसअघि टस हारेर ब्याटिङमा आएको बंगलादेशले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १५९ रनको योगफल खडा गरेको थियो ।

वर्षाका कारण करिब आधा घण्टा ढिलो सुरु भएको खेलमा साकिब अल हसनले सर्वाधिक ६४ रन बनाए । उनले ४५ बलमा नौ चौका प्रहार गरे । तान्जिन हसनले ३५ रन थप्दा महमदुल्लाहले २५ र जाकेर अलीले १४ रन थपे ।

नेदरल्यान्ड्सका आर्यन दत्त र पाउल भान मिकेरेनले समान दुई विकेट लिए । टिम प्रिंगलले एक विकेट हात पारे ।

जितसँगै तीन खेलबाट चार अंक जोडेको बंगलादेशले सुपर–८ को सम्भावना बलियो बनाएको छ । बंगलादेश तालिकाको दोस्रो स्थानमा छ । समान खेलबाट दुई अंक जोडेको नेदरल्यान्ड्स तालिकाको तेस्रो स्थानमा छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ ३२ गते, शुक्रबार


Scroll to Top

Janata Media