
काठमाडौँ । क्यानडामा जारी ग्लोबल टी–२० क्रिकेट लिगमा नेपालका कप्तान रोहितकुमार पौडेल आबद्ध टोरोन्टो नेसनल्सले हार खेपेको छ ।
सोमबार बिहान भएको खेलमा रोहितको टोली टोरोन्टो नेसनल्स सर्रे ज्याकवार्ससँग ८० रनले पराजित भयो । जारी प्रतियोगितामा नेसन्सको यो पहिलो हार हो ।
जितका लागि एक सय ६२ रनको लक्ष्य पछ्याएको टोरोन्टो नेसनल्स १७.१ ओभरमा सबै विकेटको क्षतिमा ८० रनमा समेटिएको थियो । नेसनल्सका लागि ओपनर उन्मुक्त चन्दले सर्वाधिक २१ रन बनाए ।
यस्तै रासि भान डार डुसेनले १५, निकोलस किर्तनले ११ र नेपालका कप्तान रोहितले १० रन बनाए । बलिङमा सर्रे ज्याकवार्सका सुनिल नारायण र मार्कस स्टोईनेसले तीन तीन विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सर्रे ज्याकवार्सले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ६१ रन बनाएको थियो । सर्रे ज्याकवार्सका लागि कप्तान मार्कस स्टोईनेसले सर्वाधिक ५७ रन बनाए । विरनदिप सिंहले २३, कायल मेयर्सले २७, ब्रेन्डन म्याकमुलनले १८ र मोहम्मद नाबीले १३ रन जोडे ।
बलिङमा टोरोन्टो नेसनल्सका लागि मोहम्मद रोहिड र जुनैद सिद्धिकीले दुई दुई तथा रोमासियो शेफर्डले एक विकेट लिए । ग्लोबल टी–२० मा कप्तान रोहितसँगै सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले मौका पाएका छन् ।