दक्षिण एसियाको राजनीतिक हलचलप्रति संवेदनशील हुनु पर्छ

जनता संवाददाता
२०८१ श्रावण २८ गते, सोमबार

ललितपुर । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा नेताहरूले दक्षिण एसियाको राजनीतिक हलचलप्रति संवेदनशील बन्नुपर्ने बताएका छन् । साउन २३ गतेदेखि जारी बैठकमा आइतबार बोल्ने नेताहरूले बङ्गलादेशको प्रदर्शन र सत्ता उलटफेरबाट नेपाल बेलैमा सचेत र संवेदनशील हुनुपर्ने बताएका हुन् ।

नेताहरूले निर्वाचित सरकारमाथि धावा बोल्ने र जनताको अभिमतप्रति अविश्वासको खाडल निर्माण गर्ने र दक्षिण एसिया अन्तर्राष्ट्रिय राजनीतिको क्रीडास्थल भएर नेपाल चेपुवामा पर्ने सम्भावना बढ्नेप्रति नेताहरूले कांग्रेस नेतृत्वसँगै सरकारको ध्यानाकर्षण गराएका छन् । नेताहरूले सरकारको कामकारबाही प्रभावकारी बनाउनुपर्ने, भ्रष्टाचारका फाइल खोल्नुपर्ने, संविधान संशोधनको विषयमा थप प्रस्ट हुनुपर्ने तथा विकास निर्माणका विषयमा देखिएका समस्या समाधान खोज्नुपर्ने बताए । साथै कांग्रेसको चुनावी घोषणापत्रका आधारका कार्यक्रम निर्माण गर्नुपर्नेमा पनि नेताहरूको जोड थियो ।

१५ औँ महाधिवेशन सुनिश्चित होस्

बैठकमा नेताहरूले कांग्रेसलाई समग्र रूपान्तरण गर्न पनि १५ औँ महाधिवेशन २०८२ मङ्सिरमै गर्नुपर्ने माग राखेका छन् । साथै विधान र नियमावलीमा गर्नुपर्ने संशोधनका लागि समिति बनाउन र सदस्यताको विषय निरूपण गर्नपर्ने आवाज बैठकमा उठेको छ ।

नेता डा. शेखर कोइरालाले १० बुँदे अवधारणा प्रस्तुत गर्दै महाविधेशन सार्न नमिल्ने बताए । उनले भने, “मेरो आग्रह केन्द्रीय कार्यसमितिलाई साक्षी राखेर के मात्र छ भने कांग्रेसको १५ औँ महाधिवेशन लम्ब्याउने कुनै प्रपञ्च नगरौँ । पार्टीको विधान र नियमावलीमा गर्नुपर्ने संशोधनका लागि अविलम्ब समितिहरू बनाऔँ ।” उनले १४ औँ महाधिवेशनदेखि थाती रहेका क्रियाशील सदस्यतालगायतका समस्या तत्काल समाधान गरी २०८२ मङ्सिरमा १५ औँ महाधिवेशन गर्ने सुनिश्चितता यही बैठकले गर्नुपर्ने माग राखे ।

डा.कोइरालाले बङ्गलादेशको घटना र नेपाली नागरिकमा बढ्दो वितृष्णा, सरकार निर्माणका क्रममा भएको संविधान सुधार र राजनीतिक स्थायित्वको सवाल, सुशासन, नागरिकका समस्या र सङ्कटका सन्दर्भमा पनि विषय उठान गरे ।

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा प्रस्तुत ११ वटा प्रस्तावमाथि केन्द्रीय सदस्यले छलफल केन्द्रित गरेका थिए ।

प्रकाशित मिति : २०८१ श्रावण २८ गते, सोमबार


Scroll to Top

Janata Media