काठमाडौं । वर्षाको मौसममा अत्यधिक गर्मी समेत भएकोले बाँकेका विभिन्न अस्पतालमा भाइरल ज्वरो, रुघाखोकी, टाइफाइड र पखालाका बिरामीको संख्या बढ्दै गएको छ ।
नेपालगन्जस्थित भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेजको नेपालगन्जस्थित शिक्षण अस्पताल, सिद्धार्थ अस्पताल, कान्ति आरोग्य अस्पताल, कोहलपुरस्थित मेडिकल कलेजको शिक्षण अस्पताल र विभिन्न क्लिनिकमा अहिले दैनिक पाँचदेखि एक हजारको हाराहारीमा मौसमी भाइरलका बिरामी उपचारका लागि पुग्ने गरेको ती अस्पतालले जनाएका छन् ।
भेरी अस्पताल नेपालगन्जका सूचना अधिकारी डा. संकेतकुमार रिसालले बर्षाको मौसमसँगै गर्मी पनि अत्यधिक भएकोले पछिल्लो केही दिनदेखि मौसमी रोगका बिरामी ठुलो संख्यामा उपचारका लागि अस्पतालमा आउन थालेको बताए ।
उनले भेरी अस्पतालमा मात्रै भाइरल ज्वरो, रुघाखोकी, टाइफाइड, झाडापखाला र निमोनिया जस्ता समस्या लिएर दैनिक तीन सय भन्दा बढी बिरामीहरु आउने गरेको बताए ।
पेट दुख्ने, टाउको दुख्ने, ज्वरो आउने र बान्ता एवं पखाला लाग्ने समस्या लिएर अस्पतालमा आउनेहरु बढ्दै गएको पाइएको सूचना अधिकारी डा. रिसालले बताए ।
पछिल्लो समयमा जिल्लाका केही स्थानमा झाडा पाखालाका बिरामी पनि बढेकोले भेरी अस्पतालमा झाडा पखालाको छुट्टै वार्ड स्थापना गरेर अस्पतालमा आउने बिरामीको उपचार थालिएको उनले बताए ।
सोही प्रकारले नेपालगन्ज मेडिकल कलेजको शिक्षण अस्पतालमा पनि दैनिक दुई सय बढी मौसमी भाइरलका बिरामी बढ्दै गएको सो अस्पतालले जनाएको छ । अस्पतालका सह निर्देशक डा. रोमन किदवाईले अहिले मौसमी भाइरलका बिरामी धेरै बढेको जनाउँदै अस्पतालले उनीहरुको उपचारमा विशेष ध्यान दिएको बताए ।
नेपालगन्ज उपमहानगर र कोहलपुरका अन्य विभिन्न अस्पतालले पनि मौसमी फ्लुका बिरामी बढेको जनाएका छन् ।