काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले विधान निर्माण गर्ने काममा पार्टीको नेतालाई रचनात्मक र सकारात्मक भूमिका खेल्न निर्देशन दिएका छन् ।
ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा आज भएको पार्टीको पोलिटव्युरो बैठकमा उनले अहिलेको विकसित राजनीतिक घटनाक्रम, सरकार र विधान बारेमा रचनात्मक र सकारात्मक भूमिका खेल्न निर्देशन दिएका हुन् ।
यस्तै, बैठकमा साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्दै महासचिव शङ्कर पोखरेलको पार्टीको सङ्गठनात्मक क्षेत्र बलियो बन्दै गइरहेको बताएका छन् । उनले पार्टी संगठित सदस्य १५ प्रतिशतले बढेको जानकारी दिए ।
पूर्व राष्ट्रपति भण्डारीको सदस्यताबारे छलफल हुन्छ
नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व राष्ट्रपति विद्या भण्डारीको सदस्यता नवीकरणका विषयमा पार्टीले छलफल गरेर निर्णय गर्ने बताएका छन् ।
पार्टीको पोलिटव्यूरो बैठकलाई आज सम्बोधन गर्दै अध्यक्ष ओलीले भण्डारी सक्रिय राजनीतिमा फर्कनु हुन्न भन्ने विश्वासका साथ उनलाई दोस्रो पटक राष्ट्रपति बनाइएको बताए । भण्डारीको सदस्यता हालसम्म नवीकरण नभएको अध्यक्ष ओलीले बैठकमा जानकारी गराएका छन् । बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीभित्रको अराजकता रोक्न आवश्यक रहेको बताए ।
प्रधानमन्त्री ओलीले राष्ट्रपति सक्रिय राजनीतिमा आउने कुरा आफूले सञ्चारमाध्यमबाट जानकारी पाएको बताए । दोश्रो पटक उनलाई पार्टीले पठाएको हो । अहिले संवैधानिक ब्यवस्था अनुसार फर्किनु हुन्न भनेर जिम्मेवारी दिएको हो, अध्यक्ष ओलीले बैठकमा भनेको नेताहरुको भनाइ छ ।







