काठमाडौं । मकवानपुरमा दिनहुँ डेंगु र स्क्रब टाइफसको बिरामी बढ्दै गएको छ । साउनदेखि भदौ १९ सम्म लामखुट्टेको टोकाइबाट लाग्ने डेंगु रोगका बिरामी २३९ जना र मुसामा हुने किर्नाको टोकाइबाट लाग्ने स्क्रब टाइफसका बिरामीको सङ्ख्या १२३ पुगेको छ ।
जनस्वास्थ्य कार्यालय मकवानपुरका अनुसार डेढ महिनाको अवधिमा परजीवीको टोकाइबाट लाग्ने रोगका बिरामीको सङ्ख्या बढेको हो । जिल्लामा डेढ महिनामा ८१ महिला र ४२ पुरुष स्क्रब टाइफसबाट प्रभावित बनेको जनस्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिए । उनका अनुसार हेटौँडा उपमहानगरपालिकामा ७२, मकवानपुरगढीमा १५, मनहरीमा १०, बकैयामा १२ जना र भिमफेदीमा ८ जना स्क्रब टाइफसबाट प्रभावित भएका छन् । त्यस्तै बागमती, कैलाश, इन्द्रसरोबर, राक्सिराङ र अन्य जिल्लाका एक एक जना प्रभावित भएका छन् ।
स्क्रब टाइफस एक किसिमको सरुवा रोग हो । यो रोग लाग्ने किर्ना जस्तो देखिने किरा (माइट) को टोकाइबाट मानिसमा सर्दछ । यो रोग माइटमा पाइने ओरेन्सिया सुसुगामुसीभन्ने जिवाणुबाट लाग्दछ । माइट प्रायः झाडी, खेतबारी, वनजंगल, घर वरिपरिको झाडी वा घुरान हुने ठाँउमा देखिने गर्दछ ।
त्यस्तै पुरुष ११३ र महिला १२६ सहित भदौ १९ सम्म मकवानपुरमा डेंगु सङ्क्रमितको सङ्ख्या २३९ पुगेको हो । जिल्लामा सबैभन्दा धेरै हेटौँडा उपमहानगरमा डेङ्गु सङ्क्रमित भेटिएका छन् । यहाँ ८४ पुरुष र ९७ महिलागरी १८१ जनामा डेंगु सङ्क्रमण पुष्टि भइसकेको छ ।
मनहरी गाउँपालिकामा २१ जना, मकवानपुरगढी गाउँपालिकामा १४, बकैया गाउँपालिकामा ८, भीमफेदी गाउँपालिकामा ६ जना, कैलाशमा २, र बागमती गाउँपालिकामा एकजनामा डेङ्गु पुष्टि भएको हो । अन्य जिल्लाका ५ जना र ठेगाना नखुलेको एक जनामा डेंगु पुष्टि भइसकेको छ । जिल्लाको इन्द्र सरोवर, राक्सिराङ गाउँपालिकामा र उत्तरी क्षेत्र थाहा नगरपालिकामा साउनमा डेङ्गु सङ्क्रमितको सङ्ख्या शून्य रहेको छ । गत आवमा जिल्लामा ८९१ जनामा डेंगु पुष्टि भएको थियो ।







