दूरबिन विधिद्वारा ब्रेन ट्युमरको जटिल शल्यक्रिया

जनता संवाददाता
२०८१ भाद्र २५ गते, मंगलवार

काठमाडौं । पश्चिमका तीन प्रदेशका बिरामीहरुले राम्रो स्वास्थ्य उपचार पाउने प्रमुख हब बन्दै गएको नेपालगन्जमा पहिलो पटक नाकको प्वालमार्फत दूरबिन विधिद्वारा पिट्युटरी ब्रेन ट्युमरको शल्यक्रिया गरिएको छ ।

नेपालगन्जस्थित भेरी अस्पतालमा पहिलो पटक जटिल खालको पिट्युटरी ब्रेन ट्युमरको अत्याधुनिक प्रविधिको प्रयोग गरी नाकको प्वालमा दूरबिन छिराएर शल्यक्रिया गरिएको हो ।

केही समय अघिसम्म न्युरोसम्बन्धी रोगको उपचारका लागि बिरामीहरुले निजी अस्पताल वा नेपालगन्ज बाहिर जानुपर्ने बाध्यता थियो । तर अहिले अस्पतालमा न्युरो सर्जन डा। सुबोध गौतम आएपछि न्युरोसम्बन्धी जटिल रोगको उपचारसमेत हुन थालेको अस्पतालले जनाएको छ ।

भेरी अस्पतालका न्युरो सर्जन डा. गौतम र ईएनटी सर्जन डा. सगुन श्रेष्ठको नेतृत्वको टोलीले बर्दिया गुलरिया नगरपालिका १२ भैसाहीकी ५० वर्षीया सुप्नी थारुको दूरबिन विधिद्वारा पिट्युटरी ब्रेन ट्युमरको सफलतापूर्वक शल्यक्रिया भएको भेरी अस्पतालका सूचना अधिकारी डा. सङ्केतकुमार रिसालले बताए ।

उनले यस खालको शल्यक्रियालाई मेडिकल साइन्समा दुर्लभ तथा जटिल शल्यक्रिया मानिने जानकारी दिँदै पश्चिम नेपालका सरकारी अस्पतालमा गरिएको यो पहिलो शल्यक्रिया भएको पनि बताए ।

अस्पतालका न्युरो सर्जन डा. गौतमले यस्तो शल्यक्रिया काठमाडौँ उपत्यका बाहिर विरलै हुने गरेको बताउँदै पश्चिम नेपालका सरकारी अस्पतालमा गरिएको यो पहिलो शल्यक्रिया भएको दाबी गरे ।

उनका अनुसार पिट्युटरी म्याक्रोएडेनोमा ट्युमर दिमागको बिचमा अवस्थित पिट्युटरी ग्रन्थीको एक प्रकारका नफैलिने खालको क्यान्सर हो । यो ट्युमरको आकार बढ्दा यसले वरिपरिका स्नायुतन्त्रमाथि दबाब पार्न सक्छ । जसले गर्दा बिरामीमा दृष्टि धमिलो हुने, टाउको दुख्ने, थकान महसुस हुने, हर्मोनको असन्तुलन हुने र अन्य शारीरिक समस्याहरू समेत निम्त्याउँछ । अन्ततः आँखाको ज्योति नै गुम्ने खतरा हुन्छ ।

सुप्नी थारुको अवस्था पनि गम्भीर बन्दै गएकाले उनको नाकको प्वालमा दूरबिन छिराएर अप्रेसन गरिएको र अहिले बिरामीको अवस्था सामान्य बन्दै गएको डा। गौतमले बताए । शल्यक्रिया गरिएपछि सुप्नीको अवस्थामा धेरै सुधार देखिएको उहाँका आफन्त गणेश चौधरीले बताए ।

प्रकाशित मिति : २०८१ भाद्र २५ गते, मंगलवार


Scroll to Top

Janata Media